अमरगढीको मेयरमा हरि भट्टद्वारा उम्मेदवारी दर्ता, उपप्रमुखमा अवस्थी
धनगढीः डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेस(विपी)को तर्फबाट अभिवक्ता हरि भट्टले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै उपप्रमुख पदमा नेकपा एमालेका यज्ञराज अवस्थीले मनोनयन दताए गराएका छन्। डडेल्धुरामा नेपाली काँग्रेस विपी र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। सोही अनुसार अमरगढीको नगरप्रमुख काँग्रेस विपी र उपप्रमुख एमालेको भागमा परेको थियो।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुरामा काँग्रेस विभाजित भएको थियो। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो। आइतबार स्वाउबारी भ्यू टावरमा भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको थियो।