डोटीमा माओवादी र समाजवादीबीच तालमेल, काँग्रेसले धोका दिएको आरोप
डोटीः आसन्न स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ।
९ पालिका रहेको डोटीमा ५ स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए। माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ। त्यस्तै शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका,बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको ।
आइतबार नेपाली काँग्रेससहित तीन दलीय सहमति गर्ने अन्तिम तयारी भइरहेको थियो। ९ स्थानीय तहमध्ये, काँग्रेसले चार, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीलाई दुई स्थानीय तह दिने गरी सहमतिको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसले धोका दिएको वलीले बताए। ‘ड्राफ्ट फाइनल भएर कांग्रेसहरु हस्ताक्षर गर्न पनि तयार हुनु भएको थियो। पछि उहाँहरू १० मिनेटमा सल्लाह गरेर आउँछौँ भनेर जानुभयो आउँदै आउनु भएन’ उनले भने।