सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृह जिल्लामा विपी काँग्रेस र एमालेबीच तालमेल, यस्तो छ भागबन्डा 

२०७९ वैशाख ११, ०६:२६ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा २ भागमा बाँडिएको नेपाली काँग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो।

आइतबार स्वाउबारी भ्यू टावरमा भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको छ। जसअनुसार जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएको छन्। परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा विपी काँग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ। 
यस्तै आलिताल गाउँपालिकाको  अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने निर्णय भएको छ। भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष विपी काँग्रेसलाई दिइने भएको छ। 

अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी काँग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा विपी काँग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन्। उता गन्यापधुरामा विपी काँग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने बन्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली काँग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन्। 

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँड गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो। चेतवानी दिँदा दिदै पनि आफ्ना माग सुनुवाई नभएपछि बिद्रोह भएको एक नेता बताउँछन्। 

कमेन्ट लोड गर्नुस