५० स्थानीय तहमा बैंक पुग्न बाँकी
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दावी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्ष्भित्रमा सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दावी गरेका हुन्। मन्त्री खतिवडाले देशका ७ सय ५३ स्थानीय तहमध्ये ७०३ वटामा बैंकका शाखा स्थापना भइसकेको जानकारी दिँदै ५० वटामा बाँकी रहेको बताए। बाँकीमध्ये ३० वटामा चैत मशान्तसम्म र अरु बाँकी चालु आर्थिक वर्षको अन्त्यसम्म स्थापना हुने उनले जानकारी दिए।
सबै स्थानीय तहमा बैंक स्थापनाका लागि आवश्यक पूर्वाधार नभएकाले बैंक पुग्न नसकेको मन्त्री खतिवडाले बताए। बैंकका लागि सुरक्षित भवन र सडकको सुविधा र सुरक्षा आवश्यक पर्ने बताए। कतिपय स्थानीय तहमा वर्षायाममा सडकको पहुँच नभएको र हाल निर्माणको क्रममा रहेकाले चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकहरु स्थानीय तहमा पुगिसक्नेमा आफू विश्वस्त रहेको दावी गरे।