सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

२०७९ वैशाख १०, ०५:४८ रासस

काबुल : अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ। तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन्।

यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियो। तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ। यद्यपि तालिवान सरकारसँग डरका कारण आवाज उठाउन उनीहरू असमर्थ छन्।

अफगानिस्तानको सत्ता हातमा लिँदा अफगानी जनताप्रति नरम नीति लिने घोषणा गरेको तालिवानले एकपछि अर्को गर्दै महिला, बालबालिका र युवापुस्ता लक्षित प्रतिबन्ध लगाउँदै आएको छ। प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्ने बारे तालिवान सरकार केही बोलेको छैन । अफगानिस्तानमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।-एएफपी

कमेन्ट लोड गर्नुस