बैतडीका ८ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार
धनगढी : बैतडीका ८ ओटा पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीका अनुसार डिलाशैनी र सिगास गाउँपालिका बाहेकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाइसकिएको हो।
एमालेले पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टलाई उम्मेदवार बनाएको छ। त्यसैगरी शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउँद र उपाध्यक्षमा शकुन्तला साउँद र मेलौली नगरपालिकाको मेयरमा जगदिश नायकलाई उम्मेदवार बनाएको छ भने उप प्रमुख पदका उम्मेदवारको नाम सार्वजनिक गरेको छैन।
पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उप प्रमुखमा हरु भट्ट (हरिना), दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी (लख्खाभाइ) र उपप्रमुखमा सरस्वती नेपाली, पुर्चौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुँवर र उप प्रमुखमा जानकी साउँद र दोगडाकेदार गाउँपालिकामा वर्तमान पालिका अध्यक्ष चक्र कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ भने उपाध्यक्ष पदको उम्मेदवार टुंग्याएको छैन।
सुर्नया गाउँपालिकाको अध्यक्षमा अम्मर कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले उपाध्यक्ष पद राप्रपालाई दिएर चुनावी तालमेल गर्ने तयारी गरेको छ।