सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा एमालेबाट नगरप्रमुखको उम्मेदवार बने कुँवर

२०७९ वैशाख ८, १२:०५ खबर संवाददाता

बैतडी: बैतडीको सबैभन्दा ठूलो स्थानीय तह पुर्चौडी नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख र १० वटै वडाका अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ। बिहिवार नगरप्रमुख र उपप्रमुखको टुङ्गो लागेको र सर्वसम्मतिले कर्ण कुँवरलाई नगर प्रमुख र जानकी साउँदलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको हो। नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उम्मेदवार सर्वसम्मतिले चयन गरिएको कर्णबहादुर कुँवरले बताए। 'पुर्चौडीमा सबै उम्मेदवार सर्वसम्मत भएका छन्, उनले भने, ‘सर्वसम्मत उम्मेदवार चयन भएको र संगठन पनि बलियो भएकोले हामी चुनाव जित्नेमा ढुक्क छौँ।’

एमालेले यसअघि नै वडा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको थियो। जसअनुसार नगरपालिकाको वडा नम्बर १ मा अनिता धनुषे, २ नम्बर वडामा हेमराज पन्त, ३ मा खगेन्द्र बोहरा, ४ नम्बर वडामा दिलबहादुर धानुक, ५ मा जयलाल जागरी, ६ मा नागीसिंह धानुक, वडा नम्बर ७ मा लोगबहादुर ऐर, ८ मा वीरेन्द्र धामी, ९ मा रम्भा बोहरा र १० नम्बर वडामा जीतबहादुर विष्टलाई अध्यक्षको उम्मेदवार बनाएको छ।

२०७४ को निर्वाचनमा पनि नेकपा एमालेबाट कुँवर नगर प्रमुख र साउँद उपप्रमुखको उम्मेदवार थिए। कुँवरले ३ हजार ८०० मत ल्याएका थिए भने उपप्रमुख साउँदको ३ हजार ७७० मत आएको थियो। २०७४ मा एमाले तेस्रो भएको थियो भने माओवादी केन्द्रका उम्मेदवार रणबहादुर कुँवर ४ हजार ४४४ मत ल्याएर निर्वाचित भएका थिए। नेपाली काँग्रेसका दिपकबहादुर बमले ४ हजार १२४ मतसहित दोस्रो भएका थिए।

नेकपा विभाजन हुँदा माओवादी केन्द्रबाट उपप्रमुख भएकी जानकी ऐर बमसहित वडा अध्यक्ष र अन्य नेताहरूको ठूलो समूह एमालेमै रहेको कारण एमालेको सहज जित हुने दाबी गरिएको छ।

बैतडीको पुर्चौडीमा सबै दलले एक्ला–एक्लै चुनाव लड्ने भएका छन्।

कमेन्ट लोड गर्नुस