गठबन्धनको भागबन्डा मिलाउन बसेको बैठक निष्कर्षविहीन
काठमाडौँ: सत्ता गठबन्धनको भागबन्डा मिलाउन बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको भागबण्डाबारे छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको हो।
सिट बाँडफाँटको सहमति गर्ने पूर्वतयारीसहित पाँच दलका शीर्ष नेताहरूबीच बिहानैदेखि छलफल भए पनि सिट बाँडफाँटबारे सहमति जुट्न नसकेको हो। बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि विना निष्कर्ष टुंगिएको एक नेताले बताए।
मंगलबार फेरि बैठक बस्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। ‘आज हामीले तालमेलको विषयमा छलफल गर्यौँ, निष्कर्षको नजिक पुगेका छौं,’ उनले भने, ‘अब भोलि दिउँसो साढे ११ बजे फेरि बैठक बस्छौं, र निर्णयमा पुग्छौं।’
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफलमा छन्।