डोटीमा सत्ता गठबन्धनभित्र सहमति जुटेन, केन्द्रलाई जिम्मा
धनगढीः डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन। सोमबार सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन बैठक बसेको थियो। तर, जिल्लास्तरमा सहमति हुन नसकेको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्रवहादुर सिंहले बताए। यस्तै उनले सहमतिको प्रयास गरेपनि जुट्न नसकेको र सहमतिको जिम्मा केन्द्रलाई नै दिएको बताए। केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था नदेखिएको उनी बताउँछन्।
सत्ता साझेदार दल माओवादी र एकीकृत समाजवादीको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको उनको दाबी छ। यता, एकीकृत समाजवादीका डोटी जिल्ला उपाध्यक्ष शिवराज खड्का पनि कांग्रेस र माओवादीका बीचमा कुरा नमिलेका कारण सहमति जुट्न नसकेको बताए। सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जिल्लाका नौ पालिकामध्ये दुई नगरपालिका सहित सात पालिका र ४५ वडामा दाबी गरेको छ।
यस्तै, माओवादी केन्द्रले एक नगरपालिका सहित चार पालिका र ३४ वडा दाबी गरेको छ। एकीकृत समाजवादीले दुई पालिका र १६ वडा मागेको छ। यस्तै राष्ट्रिय जनमोर्चाले तीन वडामा आफ्नो दावी पेश गरेको छ। यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये कांग्रेसले तीन र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित हात पारेको थियो। एमालेले जितेका पाँच स्थानीय तहहरुमध्ये पूर्वीचौंकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए। यस आधारमा सत्ता गठवन्धनका मुख्य दलहरु कांग्रेससंग तीन, माओवादीसंग एक र एकीकृत समाजबादीसंग एक स्थानीय तहको नेतृत्व छ।
यस्तै जिल्लाका ६५ वडामध्ये कांग्रेसले वडाध्यक्ष जितेका ३२ र माओवादी केन्द्रले जितेका चार छन्। एमालेबाट जितेका एक वडाध्यक्षले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन्। बाँकी २८ वडाको नेतृत्व एमालेको हातमा छ।