सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवादस्पद फैसला गर्ने अछामका न्यायाधीश जोशीको जिम्मेवारी खोसियो

२०७९ वैशाख ५, ०३:४१ खबर संवाददाता

धनगढीः अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालत काजमा तानिएका छन्। कैफियत फैसला दिएको भन्दै आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्रमा हस्ताक्षर गरी पठाएका हुन्।

जबरजस्ती करणी मुद्दामा जाहेरवाली किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने फैसला गरेका जोशीको उक्त फैसलामा कैफियत देखिएको भन्दै छानबिनका लागि तत्काल जिम्मेवारीबाट मुक्त गरिएको सर्वोच्च स्रोतले बताएको छ। सर्वोच्च अदालतबाट आइतबार नै अछाम जिल्ला अदालतमा पत्र पठाइएको छ र उक्त पत्र न्यायाधीश जोशीले प्राप्त गरिसकेका छन्। कामु प्रधानन्यायाधीशले काजमा तानेलगत्तै उनले इजलासमा बस्न पाउने छैनन्। जिम्मेवारीबाट मुक्त गरेर उक्त फैसला उपर छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने तयारी भएको छ।

तत्काल जिम्मेवारीबाट मुक्त गर्नका लागि सुरुमा सर्वोच्च अदालत काजमा तानिए पनि पछि जिल्ला न्यायाधीशमाथिको छानबिन गर्न न्याय परिषद्ले समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही गर्नु वा नगर्नु पर्ने के कति आधार र कारण छन् सो को आधारमा न्याय परिषद्ले निर्णय लिनेछ। 

यस्तो थियो मुद्दा

विवाह गर्छु भनी माग्न आएका युवकले १९ वर्षीय किशोरीलाई उनकै घरमा बलात्कार गरेको भन्दै किशोरीले दिएको जाहेरीका आधारमा युवकमाथि मुद्दा चलेको थियो। युवक र किशोरी दुवैले विवाहको प्रलोभनमा परी सहमतिमै यौनसम्बन्ध राखेको बयान दिएका थिए। तर पछि युवकले तत्काल बिहे नगर्ने भनेपछि किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनले आफूमाथि इच्छाविपरीत जबरजस्ती करणी भएको बयान दिएकी थिइन्। यद्यपि किशोरीले अदालतमा बयान दिने क्रममा भने सहमतिमै यौन सम्बन्ध भएको तर युवकले विवाह गर्न नमानेपछि आवेगमा जाहेरी दिएको बताएकी थिइन्।

उमेर पुगेकी किशोरीले सहमति नै यौन सम्बन्ध राखेको भनेपछि अदालतले युवकलाई सजाय ठहर गर्ने कुरा त भएन नै बरु न्यायाधीशले झूठो जाहेरी दिएर बलात्कार जस्तो संगीन अपराधमा फसाउन खोजेको भन्दै किशोरीलाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएका थिए। तर उनले सुनाएको सजाय तत्कालीन समयको कानूनभन्दा विपरीतको थियो। निस्क्रिय भइसकेको ‘यौन हिंसा विरुद्धको केही कानूनलाई संशोधन गर्न बनेको अध्यादेश’ लाई टेकेर उनले पीडित भनिएकी किशोरीलाई नै थुनामा पठाउने फैसला गरिदिएका थिए।

उनको उक्त फैसला आलोचित बनेको थियो। पीडित किशोरीको पारिवारिक अवस्था, होस्टाइलको कारण, विवाह नभएकी किशोरीको सामाजिक अवस्था आदिलाई नहेरी न्यायाधीशले फैसला गरेको भन्दै उक्त फैसलामाथि व्यापक टिकाटिप्पणी भएको थियो। त्यसलगत्तै कामु प्रधानन्यायाधीश कार्की र न्याय परिषद्ले उक्त फैसलाको अध्ययन गरेका थिए।


 

कमेन्ट लोड गर्नुस