बैतडीमा एसइईका लागि तयारी तीब्र
बैतडीः बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी तीब्र पारिएको छ। यही वैशाख ९ गतेदेखि हुने उक्त परीक्षाका लागि तयारी तीब्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो।
इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने भएको छ। विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिसकिएको छ। परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्षका लागि यही वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ।
यस वर्षको एसइई परीक्षामा जिल्लाका पाँच हजार ४३१ विद्यार्थी सहभागी हुने भएकामा नियमिततर्फ पाँच हजार १८१, प्राविधिकतर्फ १८१ र ग्रेड वृद्धितर्फ ६७ विद्यार्थी सहभागी हुनेछन्। परीक्षा यही वैशाख ९देखि २० गतेसम्म परीक्षा हुने भएको छ।