कञ्चनपुरको महाकाली पुलमा महिलाको खुट्टा फसेपछि...
धनगढीः कञ्चनपुरको महाकाली पुल जीर्ण बन्दै गएको छ। दक्षिण एसियाकै लामो झोलुंगे पुलको रुपमा चिनिएको भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीको पुल जीर्ण बन्दै गएको हो। पुलका फलामे पाताहरु फुत्किदै गएपछि पुल जीर्ण बन्दै गएको बताइएको छ। यो पुल यहाँको प्रमुख पर्यटकीय आर्कषण पनि हो।
उक्त पुलमा सोमबार एक महिलाको खुट्टा फसेको छ। भीमदत्त नगरपालिका–१८ की ३० वर्षीया माया सिंहको दोधारातर्फ गइरहेका बेला झोलुंगे पुलमा खुट्टा फसेको हो। उनी आफन्तसँग भेटघाट गर्न दोधारातर्फ गइरहेकी थिइन्। पुल तर्दै गर्दा अचानक फलामे पाताहरु फुत्किएको ठाउँमा सिंहको खुट्टा फसेको स्थानीयले बताएका छन्। सिंहको खुट्टा फसेपछि अहिले स्थानीय र प्रहरी मिलेर उनको उद्धार गरिएको छ।
मर्मत सम्भारको अभाव र ओभर लोड मोटरसाइकलको तीब्र चापका कारण पुल दिनदिनै जीर्ण बन्दै बताइएको छ। पुलको भीमदत्त नगरपालिकाको क्षेत्रमा यस्तो दुर्घटना भएको हो। स्थानीय तहले पुल मर्मतमा ध्यान नदिँदा यस्ता दुर्घटना भइरहेको स्थानीयको गुनासो छ।