धनगढी उपमहानगरपालिकामा कालोपत्रेका योजना निर्माणको चरणमा गएनन्
धनगढी उप–महानरपालिकाले आर्थिक बर्षको ७ महिनासम्म पनि कालोपत्रे सडकका योजना निर्माणको चरणमा लैजान सकेको छैन्। चालु आर्थिक बर्षमा ३२ करोड १३ लाखका कालोपत्रे सडक, ग्रावेल, ह्युमपाई तथा नाली निर्माणका योजनाहरु छनौट गरेको उप–महानगरपालिकाले अहिलेसम्म कालोपत्रेका योजना निर्माणको चरणमा लैजान बाँकी रहेको हो। सडक ग्रावेलको काम सुरु भएपनि कालोपत्रेको काम भने शुरु नै भएको छैन्। सडक ग्रावेलका लागि उप–महनगरपालिकाले उपभोक्ता समिति गठनको काम समेत पुरा गरेको छैन्।
गत आर्थिक बर्षमा लक्ष्य अनुसारको कालोपत्रे सडकको काम पुरा गर्न नसकेको धनगढी उप–महानगरपालिकाले चालु आर्थिक बर्षमा पनि आर्थिक बर्षको ७ महिनासम्म निर्माण अझै सुरु नगरेको हो। गत आर्थिक बर्षमा उप–महानगरपालिकाले २७ दशमलव ९४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर गत आर्थिक बर्षमा उप–महानगरपालिकाले १९ दशमलव ९८ किलोमिटर सडक कालोपत्रे गरेको थियो। यो बर्ष केही कालोपत्रेका योजनाको ठेक्का सम्झौता भएको र केही योजनाको भने भर्खर सुचना प्रकाशन भएको उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले जानकारी दिए।
उप–महानगरपालिकाले गत आर्थिक बर्षमा ग्रावेल सडक निर्माण भने लक्ष्य भन्दा बढि गरेको थियो। तर चालु आर्थिक बर्षमा सबै सडक ग्रावेल योजनाहरुको सम्झौताको काम सकिएको छैन्। बर्षातको समय भन्दा अगाडि सडक ग्रावेलको काम सक्नु पर्ने हुन्छ। गत आर्थिक बर्षमा धनगढी उप–महानगरपालिकाले एक सय ३६ दशमलव ०१ किलोमिटर सडक ग्रावेलको लक्ष्य रहेकोमा एक सय ३७ दशमलव ०५ किलोमिटर सडक ग्रावेल गरेको ईन्जिनियर भट्टले बताए।
उप–महानगरपालिकासंग झण्डै ७ सय योजना रहेकोमा २ सयको हाराहारीमा सडकका योजना छन्। बिषेश अनुदान, जिल्ला समन्वय समितिका कार्यक्रम, सम्पर्क अनुदान, स्थानीय साझेदारी कार्यक्रम लगाएयतबाट सडक निर्माणको लागि आउने बजेटको विषयमा उप–महानगरपालिका अझै अन्यौलमा रहेको उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिए।