बैतडीको पुर्चौडीमा बमले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने
बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा नेपाली काँग्रेसका नेता प्रकाशबहादुर बमले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार दिने बताएका छन्। केन्द्रबाट माओवादी केन्द्र र समाजवादीसँग गठबन्धन गर्नैपर्ने निर्देशन आए नगर प्रमुखसहित उपप्रमुख र वडा अध्यक्ष र सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्ने बमले दिनेशखबलाई बताए।
"नगरमा हाम्रो संगठन बलियो छ,तर गठबन्धन गरे नगरप्रमुख माओवादी केन्द्रलाई छोड्नुपर्ने हुन्छ, उनले भने, पार्टीले लाद्ने अपमान सहन कोहि पनि कार्यकर्ता तयार छैनन्, त्यसैले मैले नगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेको हुँ।"
बम २०४२ सालदेखि नेपाली काँग्रेसमा आवद्ध युवा नेता तथा व्यवसायीसमेत हुन्। पार्टीको ट्रेड युनियनमा आवद्ध उनी काँग्रेसको क्षेत्रीय प्रतिनिधि पनि हुन्। बमले माओवादी केन्द्रलाई नेपाली काँग्रेसका कार्यकर्ताले कुनै पनि हालतमा भोट हाल्न नसक्ने बताउने गरेको कारण र पार्टीको सम्मान र पहिचान मर्न नदिने अठोटका कारण गठबन्धन गर्नैपर्ने बाध्यत्मक अवस्था आएमा स्वतन्त्र उम्मेदवारी दिन तयारी थालेको बताएका छन्।