सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सात बुँदे माग सहितको सात किलोको माला लगाईने
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई सात बुँदे माग सहितको सात किलोको माला लगाईने भएको छ । यसअघि २१ बुँदे माग उठाउँदै आएकोमा ती मागहरु समय सापेक्ष पुरा हुँदै गएकोमा केही माग भने निजि क्षेत्रबाट पुरा भएपनि सरकारी स्तरबाट माग सम्बोधन हुन सकेको छैन । तर यसपाली संघले सात बुँदे माग प्रदेश सरकारलाई बुझाउने भएको छ । सुुदुरपश्चिमको उद्घाटन समारोहमा ती मागहरु दिईने भएका छन् । प्रदर्शनीस्थल सहित सेती अञ्चल अस्पतालको स्तरोन्नति गेटा विमानस्थलको स्तरोन्नति पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण लगायत सुदुरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएका मागहरु प्रदेश सरकारलाई बुझाईने संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
कैलाली उद्योग बाणिज्य संघको आयोजनामा भईरहेको सुदुरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । हरेक बर्ष मंसीर २२ देखि शुरु हुने महोत्सव संघको निर्वाचनका कारण यस बर्ष माघ २१ गतेदेखि हुन लागेकोमा त्यसको तयारी पुरा भएको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै तयारी सकिएको जानकारी दिएको हो । भोली दिउँसो २ बजे सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्धघाटन गर्नु हुने छ । सुदुरपश्चिमको कला संसकृति पर्यटन कृषि महिला उद्यमीलाई प्रोत्सहान गर्ने गरी यसपालीको महोत्सवमा स्थान दिईको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
फागुन २ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोवार हुने अनुमान गरिएको छ । महोत्वमा एक सय ७० भन्दा वढी सटरहरु राखिएका छन भने दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ । यस्तै संघका पदाधिकारीहरुले महोत्सव अवधिभर भत्ता नलिने घोषणा गरेका छन् । संघको बैठक बसेर नै विगतका महोत्सवमा पदाधिकारीहरुले भत्ता लिदै आएकोमा यसपाली त्यो नलिने निर्णय गरिएको हो । अघिल्ला बर्षका महोत्सवमा महोत्सव अवधिभर संघका पदाधिकारीहरुलाई दिनको दुई हजारका दरले भत्ता दिदै आईएको थियो । तर यसपाली कुनै पनि पदाधिकारीले भत्ता नलिने संघका वरिष्ठ उपाध्यक्ष ओझाले बताए ।