सुदूरपश्चिममा पाइने जडिबुटीजन्य वनस्पति जोगाउन समस्या
धनगढी: सुदूरपश्चिम प्रदेशमा पाइने जडिबुटीजन्य संरक्षित वनस्पति संकटमा परेका छन्। बढ्दो सहरीकरण तथा संरक्षणको अभावमा ती वनस्पति जोगाउन समस्या भएको सरोकारवाला बताउँछन्।
प्रदेशमा पाइने विभिन्न प्रकारका वनस्पति प्रशोधन गरेर औषधि बनाउन सकिन्छ। त्यसलाई निर्यात पनि गर्न सकिन्छ। यसले प्रदेश तथा देशको समग्र अर्थतन्त्र नै माथि उकास्न मद्दत गर्ने विश्वास वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्ट गर्छन्।
परम्परागत रूपमा नेपाली जडीबुटी भारत र तिब्बतमा मात्र निर्यात हुने गरेको थियो। तर हाल आएर संसारभरका ५० भन्दा बढी देशहरूमा नेपाली जडीबुटीको निर्यात हुने गरेको तथ्यांकले देखाएको छ। जडीबुटीको निर्यातबाट भित्रिएको रकमले देशको अर्थतन्त्र र ग्रामीण जनताको जीविकोपार्जनमा उल्लेख्य भूमिका पनि खेलेको देखिन्छ।
तर त्यस्ता जडिबुटीजन्य वनस्पति संरक्षणको अभावमा लोप हुँदै गएका छन्। महत्त्व थाहा पाउँदा सबै मिलेर नास गर्ने र महत्त्व थाहा नहुँदा खेर जाने, उचित प्रयोग नहुने परिपाटीले यस क्षेत्रमा ठूलो समस्या निम्त्याएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख भट्ट बताउँछन्। ‘हामीले जडीबुटी संकलन गर्ने भन्नेतर्फ मात्र ध्यान दियौं। तर प्रकृतिबाट हामीले कति संकलन गर्न सकिन्छ भन्नेतर्फ हाम्रा प्रयासहरू भएनन्’ उनले भने, ‘जडीबुटीमध्ये कतिपय अझै पनि पहिचान हुन सकेका छैनन्। कतिपय बढ्दो माग र आर्थिक लोभका कारण लोप हुने अवस्थामा पुगेका छन्।’
प्रदेशको कैलालीमा मात्रै औषधिजन्य वनस्पतिको औधी सम्भावना छ। जिल्लाको चुरे क्षेत्र, घोडाघोडी क्षेत्र, जाखौर ताल क्षेत्र, गोदावरी संरक्षित क्षेत्रमा पाइने वनस्पति अधिकांश संरक्षित वनस्पतिमा पर्छन्। जसको सही प्रयोगले प्रदेशको आर्थीक क्षेत्र बलियो हुने देखिन्छ। तर प्रदेश र स्थानीय सरकार यस्ता सम्भावनाको खोजीमा भन्दा आफ्नो भाडो कसरी भर्ने भन्ने सोचमा डुबेको सरोकारवाला बताउँछन्।
सुदूरपश्चिममा लेउ, च्याउ तथा ढुसी, झ्याऊ, काई, निउरो तथा उन्यू जस्ता औषधिजन्य वनस्पति पाइन्छन्। तर यी वनस्पती संरक्षणको अभावमा कतै खेर जाने र कतै बढी उत्खनन् हुने परिपाटीले लोप हुने अवस्थामा पुग्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।