सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनको राजधानी नजिक सामूहिक चिहान फेला

२०७८ चैत्र २७, ०७:२३ खबर संवाददाता

युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ। रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ।  

किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएको थियो। युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो। सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ। तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ। 

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकारले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि वास्तविक प्रतिबन्ध लगाएमा युक्रेनमा चलिरहेको युद्ध रोकिन सक्ने बताएका छन्। सन् २००५ सम्म पुटिनसँग काम गरेका आन्द्रेई इलारीनोभले बीबीसीसँग कुरा गर्दै ऊर्जाको प्रयोग घटाउने अरू देशका चेतावनीलाई रुसले गम्भीरतापूर्वक नलिएको बताएका हुन्। 

अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले रुसी सरकारको बजेटको एक तिहाइ भन्दा बढी ओगटेको थियो। युरोपेली सङ्घ एक्लैले रुसलाई ऊर्जाका लागि प्रतिदिन एक अर्ब युरो तिर्ने बीबीसीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस