कञ्चनपुरमा तालमेल नहुने संकेत, कांग्रेस भन्छ–‘हँसिया हतौडामा भोट हाल्ने अभ्यास छैन’
धनगढीः कञ्चनपुर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय एनपी साउँद र रमेश लेखकको गृहजिल्ला हो। तर कञ्चनपुरमा कांग्रेसका नेता–कार्यकर्ताले स्थानीय तहको चुनावमा गठबन्धनका दलसँग तालमेल गर्न अस्वीकार गरेका छन्। उनीहरुले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका ५ दलसँग सहकार्य गर्न आवश्यक नरहेको बताएका हुन्।
जिल्लाको भीमदत्त, बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा कांग्रेसका पालिकास्तरीय कार्यसमितिहरूले स्थानीय निर्वाचनमा तालमेल अस्वीकार गर्ने निर्णय गरेका छन् नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले नेता–कार्यकताहरुबाट गठबन्धन गर्न नहुने सुझाव आएको बताए। ‘पालिका स्तरीय छलफल गर्ने भनेका थियौं। माओवादी र एकीकृत समाजवादीका कमाण्डरहरु भेटिएनन्। जिल्ला स्तरीय कमाण्डरहरुलाई बोलाएर छलफल गरेका हौं उहाँहरुले आलोपालो भन्नु भएको हो तर निर्णय भएन’ उनले भने, ‘कांग्रेस कार्यर्ताहरुमा गठबन्धन गर्नु हुँदैन भन्ने व्यापक छ। जनताहरुले पनि कांग्रेसले के गर्न लागेको भन्दै प्रश्न गर्न थाले।’
कांग्रेसले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कञ्चनपुरमा भने उक्त निर्णय कार्यान्वयन नहुने सङ्केत देखिएको छ। जिल्लामा नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुले गठबन्धनको खुलेआम विरोध गर्न थालेपछि चुनावी तालमेलको सम्भावना घटेको छ। सभापति बोगटीले भन्छन्, ‘व्यवस्था, परिस्थिति र आवश्यकता हेरेर तालमेल गर्ने भनेका हौं। केन्द्रमा सरकार गठन गर्दा भएको सहमति हो। तर कांग्रेसले अहिलेसम्म यस्तो अभ्यास गरेको छैन। कांग्रेसले हँसिया हतौडोमा भोट हाल्नुपर्ने नयाँ कुरा हो।’
जिल्लामा नेकपा माओवादी केन्द्र र नयाँ गठन भएको एकीकृत समाजवादी पार्टीका संरचनाहरु नभेटिएको कांग्रेसले बताएको छ। सोही कारणले जिल्लाका स्थानीय तहहरुमा नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न आवश्यक नभएको भन्दै नेतृत्वलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस कञ्चनपुर प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको हो। अहिले जिल्लामा कांग्रेस र एमालेको मात्रै स्थानीय तहसम्मै संरचना भएकाले अन्य पार्टीसँग गठबन्धन गरेर फाइदा नहुने तर्क कांग्रेसको छ।
तर माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले भने केन्द्रको सम्झौता स्थानीय स्तरमा कार्यान्वयन हुने बताएका छन्। ‘स्थानीय तहमा कांग्रेसले गठबन्धन नगर्ने भन्ने कुरा आएको छ। त्यो समस्या केन्द्रीय कार्यालयले निर्देशन गरेर हल गर्छ। केन्द्रको निर्देशन नमान्ने कांग्रेस पनि त भएनन् नी ?’ उनले भने।
स्थानीय तहमा कांग्रेसभन्दा माओवादी केन्द्र बलियो रहेको उनले बताए। जिल्लाका २ स्थानीय तह र २२ वडामा माओवादी केन्द्रको नेतृत्व रहेकाले कांग्रेसभन्दा माओवादी बलियो रहेको तर्क उनको छ। ‘२२ वडाध्यक्ष बिना संगठन जितिन्छ ?’ उनले प्रश्न गरे।
उता एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जीवन थापाले केन्द्रको निर्देशनको पर्खाइमा रहेको बताएका छन्। जिल्लामा गठबन्धन गर्ने सहमति भएको उनले बताए। थापाले भने, ‘तालमेल गर्ने भनेर सहमति भएको हो, तर कसरी गर्ने भन्ने भएको छैन। माथिबाट नआएर गर्न नसकिने भयो। कांग्रेसले एक नम्बर क्षेत्रमा अफ्ठ्ेरो गर्दैछ। आफ्नो पालो नआउने भयो भनेर होला।’
गत स्थानीय तहको निर्वाचनमा जिल्लाका ९ स्थानीयमध्ये भीमदत्त, कृष्णपुर, बेल्डाँडी, पुनर्वास र बेदकोट गरी ५ ओटामा नेकपा एमाले विजयी भएको थियो। लालझाडी र बेलौरीमा माओवादी तथा शुक्लाफाँटा र दोधारा–चाँदनी नगरपालिकामा कांग्रेसबाट विजयी भएको नेतृत्व छ। यस्तै ९२ वडाहरुमा नेकपा एमालेले सबैभन्दा बढी वडामा जित निकालेको थियो।