सुदूरपश्चिममा पहिलोपटक वन विज्ञानको अध्यापन गर्ने तयारी
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा वन विज्ञान अध्ययन गराउन पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ। त्रिभुवन विश्वविद्यालयका विज्ञ टोली सम्मिलित समूहले सुदूरपश्चिम विश्वविद्यालयको स्नातक तहमा वन विज्ञान विधाको पाठ्यक्रम निर्माण गरिरहेको जनाएको हो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहितको विज्ञ टोलीले शुक्रबार कैलाली क्याम्पसमा छलफल राखेर वन विज्ञान अध्ययनको पाठ्यक्रममा समेट्नुपर्ने क्षेत्र र विषयबारे राय सुझाव संकलन गरेका छन्।
कैलाली बहुमुखी क्याम्पसलाई वन विज्ञान अध्ययनको केन्द्र बनाउनुपर्ने र पढाईसँगै डिनको कार्यालयसमेत कैलाली बहुमुखी क्याम्पसमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनका सभापति चुडामणि भट्टले बताए। ‘विश्वविद्यालयमा समाहित हुँदा गरिएका सहमति अक्षरसः पालना हुनुपर्ने हाम्रो माग रहेको छ’ उनले भने, ‘वन विज्ञानसहित अन्य प्राविधिक धारका कार्यक्रम चलाउदा पहिलो प्राथमिकता कैलाली बहुमुखी क्याम्पसलाई दिनुपर्छ।’
सामुदायिक क्याम्पसको रुपमा २०३३ सालदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेको कैलाली बहुमुखी क्याम्पस अहिले सुदूरपश्चिम विश्वविद्यालयको सबैभन्दा ठुलो आङ्गिक क्याम्पस हो। कम शुल्कमा प्राविधिक विषयको अध्ययन गराउन सकिने भनेर क्याम्पसले आङ्गिक हुने निर्णय लिएको थियो। वन विज्ञान विधाको पढाई सुदूरपश्चिम र कर्णाली प्रदेशमै नभएकोले क्याम्पसबाट वन विज्ञान विधामा अध्ययन सुरू हुने प्राध्यापक डाक्टर हेमराज पन्तको विश्वास छ। ‘प्राविधिक विषय माग्दा त्रिभुवन विश्वविद्यालयले नदिने समस्या रहेको थियो। त्यसैले सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक हुने निर्णय लिइएको हो’ उनले भने।
न्यूनतम शुल्कमा प्राविधिक विषय पढाउन मिल्ने भनेर कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनेको व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर पदमराज जोशीले बताए। क्याम्पसमा भौतिक पूर्वाधारको कमीले कुनै पनि कार्यक्रमको पढाई नरोकिने स्थिति सिर्जना भएको र क्याम्पसलाई आवश्यक पर्ने वित्तिय स्रोत साधन जसरी पनि जुटाउन सकिने अवस्था रहेकोले आङ्गिक क्याम्पस भएपछि प्राविधिक धारको पढाई पनि सहज भएको उनले बताए।
सुदूरपश्चिममा वन क्षेत्रले कुल क्षेत्रफलको ५८ प्रतिशत भूभाग ओगटेको छ। हिमाल, पहाड तथा तराईमा सबैखाले वन क्षेत्र र वनस्पति उपलब्ध रहेकोले वन विज्ञानको पढाई, अध्ययन र अनुसन्धानका लागि सुदूरपश्चिम महत्वपूर्ण रहेको प्रदेशका कानुनमन्त्री एवं वन वैज्ञानिक डाक्टर रणबहादुर रावलले बताए।
सुदूरपश्चिम विश्वविद्यालयको वन विज्ञान अध्ययन कैलाली बहुमुखी क्याम्पसबाटै सुरु हुनेमा कुनै शंका नगर्न क्याम्पसले अपिल गरेको छ। पूर्वाधार निर्माण र विकासमा कुनै समस्या नभएकोले वन विज्ञानको पढाई कैलाली बहुमुखी क्याम्पसबाट नै हुनेमा ढुक्क रहेको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले बताए।
सुदूरपश्चिम विश्विविद्यालयले साधारण र प्राविधिक धारमा गुणस्तरीय र विश्व बजारमा काम लाग्ने शिक्षा दिन चाहेको बताइएको छ। इन्जिनियरिङ र वन विज्ञान पढाई कैलाली बहुमुखी क्याम्पसमा हुने कुरामा ढुक्क हुनुपर्ने सरोकारबालाले बताएका छन्। अर्को शैक्षिक सत्रमा अनिवार्य वन विज्ञानको पढाई सुरु गर्ने गरी पाठ्यक्रम निर्माणमा जुटेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्बराज जोशीले बताए।
सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्नुको पछाडि प्राविधिक विषयको अध्ययन गर्न पाउने सुविधा र छनोट विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई दिने भन्ने थियो। क्याम्पस समायोजन हुँदा गरिएका लिखित र मौखिक सहमति अक्षरसः पालना गरिनुपर्ने आवश्यकता औल्याइएको छ।