श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त
कोलम्बो: श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ। सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ। सरकारले उनीसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ। उनीहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिएका छन्।
गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए। अर्थशास्त्रमा गहिरो अध्ययन गरेका उनले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका थिए। उनी मलेसियाको वियसान केन्टरमा पनि आवद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य हुन्।
त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि बैकल्पिक निर्देशकको रुपमा काम गरेका थिए। उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसकेका छन्।