एमाले डिलाशैनीमा दरार, जोशीले पालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिने
धनगढीः बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा एमालेभित्र दरार आएको छ। एमाले बैतडीका अध्यक्ष र अर्का नेता सन्तोषप्रकाश जोशीको समूहबीचको विवादले पार्टीभित्र दरार आएको हो।
नेता जोशीको समूहले एमालेभित्र बिद्रोहको तयारी गरेको छ। जोशीले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जोशीले आसन्न स्थानीय तहको निर्वाचनमा एमाले डिलाशैनीले अध्यक्ष पदका लागि उनको नाम सिफारिस नगरेपछि स्वतन्त्र उम्मेद्वारीको तयारी थालेका हुन्। चैत २७ गते धामीगाउँमा जनभेला गरेर उम्मेद्वारी घोषणा गर्ने जोशीले बताएका छन्। एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने बताएका हुन्। पार्टीका सबै पदबाट राजीनामा गरेर उम्मेद्वारी दिने उनको भनाइ छ।
एमाले डिलाशैनीले अध्यक्षका लागि उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्टको नाम मात्रै सिफारिस गरेको थियो। त्यसपछि एमालेभित्र विवाद चर्किएको थियो। एमाले पालिका कमिटिको बैठक बसेका बेला माइन्युट गायब गरेर आफ्नो नाम षडयन्त्रपूर्वक हटाएको जोशीको आरोप छ।
षडयन्त्रपूर्वक तरिकाले राजनति गरेकाले स्वतन्त्र उम्मेद्वारी दिन लागेको उनले दाबी छ। तर, यता एमाले डिलाशैनीले भने सहमतिमै उम्मेदवार छनौट भएको जनाएको छ।