कांग्रेस पुर्चौंडीले भन्योः चुनावमा गठबन्धन आवश्यक छैन
धनगढीः बैतडीको पुर्चौंडीमा कांग्रेसले निर्वाचनमा सत्ता गठबन्धन आवश्यक नरहेको बताएको छ। केन्द्रस्तरमै सत्ता गठबन्धनका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय गरिसकेका बेला कांग्रेस पुर्चौंडीले भने तालमेल आवश्यक नरहेको बताएको हो।
नेपाली कांग्रेस पुर्चौंडी नगर कार्यसमितिले बिहीबार एक विज्ञप्ती जारी गर्दै पुर्चौंडीमा कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको जनाएको छ। पुर्चौंडीका १० मध्ये ९ वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेद्वार र मेयर पदको उम्मेद्वार समेत टुंगो लगाईसकेकाले चुनावी तालमेल नगर्न आग्रह गरिएको कांग्रेस पुर्चौंडीका सभापति गणेशबहादुर गडालले बताए।
कांग्रेसले पुर्चौंडीमा आफ्नै बलबुतामा चुनाव लड्ने योजना बनाएको सभापति उनले बताए। गठबन्धनको आवश्यकता नरहेको भन्दै जिल्ला कार्यसमिति, प्रदेश समिति र केन्द्रिय समितिको ध्यानाकर्षण समेत गराएको उनले जनाए।