धनगढीको मेयरका लागि दर्जन बढी नेता लाइनमा, पार्टीभित्र हानथाप
वीरेन्द्र भट्ट, धनगढीः धनगढी उपमहानगरपालिकाको आगामी नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिङ सुरु गरिसकेका छन्।
प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पार्टीबाट समेत गरी एक दर्जन बढी नेताहरु नगर प्रमुखको दावेदारका रुपमा खुलेका छन्। उनीहरु पार्टीभित्रै लबिङ गरिरहेका छन्।
धनगढीमा जनप्रतिनिधिको रुपमा ५ वर्षे अनुभव बटुलेकाले पार्टीले टिकट दिए आगामी नेतृत्वका लागि तयार भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए। ‘यसअघि नेकपा माओवादी केन्द्रले धनगढीका ५ वडाहरु जितेको थियो, माओवादीले जितेका वडाहरुमा अन्य वडाभन्दा विकास पनि राम्रै भएकाले पार्टीले टिकट दिएको खण्डमा मेयरमा लड्न तयार छु’ उनले भने।
माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा उपमेयरमा पराजित शान्ति अधिकारीसहित बलबहादुर ऐर, डिएल भण्डारीे आंकाक्षीको रुपमा खुलेका छन्। यस्तै नेकपा एमालेबाट आगामी मेयरका लागि दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, राजेश खाती र जीवन बमले तथा नेपाली कांग्रेसबाट हाल धनगढी उपमहानगरपालिकाको नेतृत्व गरिरहेका नृपबहादुर वडसहित कृष्णबहादुर महरा, पूर्ण कुँवर लगायत टिकटका लागि दौडधुपमा छन्। नेकपा एकीकृत समाजवादीबाट भने राजेश भण्डारी र मदन रेग्मी पनि मेयरका टिकटको दौडमा छन्।
यसअघि पनि मेयरकै टिकट पाएकाले नेकपा एमालेले आफूलाई नै टिकट दिनेमा विश्वस्त रहेको नेता दुर्गा जोशी बताउँछन्। ‘स्वभाविक रुपमा आगामी नेतृत्वका लागि मेरो उम्मेदवारी रहन्छ, पार्टीले टिकट दिनेमा पनि विश्वस्त भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्न प्रतिवद्ध छु’ उनले भने।
मेयरका आंकाक्षीहरुले पार्टीको निर्णयलाई आधिकारिक मान्ने बताएपनि आफुलाई नै टिकट दिनुपर्ने विषयमा भने भित्रभित्रै घनिभुत रुपमा लबिङ गर्दै आएको बुझिएको छ।
नगरप्रमुखमा ‘असफल’ वड पुनः इच्छा देखाउँदै
धनगढीका नगरप्रमुख नृपबहादुर वड धनगढीलाई स्मार्ट नगर बनाउने भन्दै २०७४ को निर्वाचनमा विजय भएका थिए। तर कार्यकाल सकिँनै लाग्दा उनले खोलानालाको अतिक्रमण हटाउन समेत असफल भएको स्थानीयको गुनासो छ। सुकुटी नालादेखि कैलाली पुलसम्म सबै अतिक्रमण हटाएर दुवैतिर ग्रीनपार्क बनाउने घोषणा गरेका वडले अहिलेसम्म कुनै काम गर्न सकेका छैनन्। साथै साइकल लेन र तारजाली गरेर मिनी चिडियाखाना बनाउने योजना पनि घोषणामै सिमित छ। निर्वाचनका बेला गरेका प्रतिवद्धता पूरा गर्न नसकेका मेयर वड पुनः आगामी नेतृत्वका लागि आंकाक्षी छन्।
तर नेपाली कांग्रेसका कैलाली सभापति नारायण भट्टले भने अहिले नै टिकट दिने/दिने भन्ने विषयमा कुनै छलफल र निर्णय नभएको बताए। ‘चैत २० गतेपछि मात्र उम्मेदवारको विषयमा प्रक्रिया सुरु हुन्छ। अहिले यो नै उपमहानरको मेयरको उम्मेदवार भनेर कांग्रेसले कसैलाई भनेको छैन, यो विषय केन्द्रबाटै टुंगिन्छ’ उनले भने।
स्वतन्त्रबाट हमाल
यसअघि पनि स्वतन्त्रबाट नगरप्रमुख चुनाव लडेका गोपाल हमालले फागुन १९ गतै नै पुनः आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित हमालले ‘धनगढी मोडल’ बनाउन फेरि स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका छन्। हमालले अहिले व्यापक भ्रष्टाचार रहेको बताउँदै आफूले त्यसलाई हटाएर सामाजिक कल्याकारी काममा सक्रिय हुने बताए।
उनले मेयरमा आफू यो अन्तिम पटक लड्न लागेको बताएका थिए। ‘मलाई यो सबै धनगढी र सुदूरपश्चिमले दिएका हुन्’, उनले भनेका थिए, ’मलाई यो माटोले धेरै थोक दिएको छ। अब म ५ वर्ष धनगढीको सेवामा तल्लीन हुन चाहन्छु।’ व्यवसायी समेत रहेका हमालले चुनावी प्रचारप्रसारलाई तीव्र बनाइरहेका छन्।