सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलका लागि अधिग्रहण हुने जग्गामा प्रदेश सरकारको सडक योजना

२०७८ चैत्र १९, ०७:३२ नारायण अवस्थी

धनगढी : कैलालीको धनगढी विमानस्थल विस्तारका लागि अधिग्रहण हुने जग्गामा सुदूरपश्चिम प्रदेश सरकारले सडक योजना पारेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा विमानस्थलले अधिग्रहण गर्ने जग्गामा प्रदेश सरकारले ३० लाखको सडक योजना हालेको पाइएको हो। 

धनगढी विमानस्थलको दक्षिणमा रहेको मटकन्ना तालदेखि विमानस्थलको पार्किङस्थलसँग जोडिएको तारबारसम्म ग्राभेलको योजना प्रदेश सरकारले कार्यान्वयन गरिरहेको हो। राणाकालिन रेलको लिकलाई बाटो कायम गरी जग्गा व्यापारीको प्रभावमा बस्ती नभएको र अधिग्रहणमा पर्ने खेतमा प्रदेश सरकारले बजेट हालेको भन्दै स्थानीयले गुनासो गरेका छन्। 

'सुदूरपश्चिम प्रदेश सरकारले जग्गा कारोबारीको प्रभावमा परेर धनगढी विमानस्थलको दक्षिणतर्फको बस्तीबिहीन जग्गामा सडक ग्राभेलको योजना हालेको छ। मटकन्ना तालदेखि विमानस्थलको तारबारसम्म १ हजार ४ सय मिटर सडक प्रदेश सरकारले ३० लाखको लागतमा ग्राभेल गरेको छ,' एक जना स्थानीयले दिनेशखबरलाई भने।

विमानस्थल विस्तारको लागि कति जग्गा अधिग्रहण हुन्छ भन्ने यकिन नहुँदै व्यक्तिको प्रभावमा परेर बस्ती नै नभएको क्षेत्रमा सडक ग्राभेल गर्न बजेट हालिएको हो। 'धनगढी विमानस्थल विस्तारका लागि थप जग्गा अधिग्रहण गर्दा सडक बनेको जग्गासमेत विमानस्थलभित्र पर्छ। तर पहुँचको भरमा बजेट हालिएको छ,' अर्का स्थानीयले भने।

तर धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले भने विमानस्थलको दक्षिणतर्फ तारबारदेखि ७० देखि ८० मिटरसम्म जग्गा अधिग्रहण हुनसक्ने दिनेशखबरलाई बताए। 'पूर्ण रिपोर्ट त आएको छैन तर विमानस्थलको दक्षिणतर्फ तारबारबाट ७० देखि ८० मिटरसम्म अधिग्रहण हुने अनुमान छ,' उनले भने, 'कहाँसम्मको जग्गा अधिग्रहण हुन्छ भन्ने थाहा पाउन रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ।'

धनगढी विमानस्थल वरपर अधिग्रहणमा पर्ने जग्गामा कुनै पनि योजना नहाल्ने सरकारी नीति छ। तर प्रदेश सरकारले भने बस्ती नै नभएको सडक ग्राभेल गरेको छ। जग्गा व्यवसायीले प्लटिङ गरेर कायम गरेको सडकमा व्यवसायीले नै सडक ग्राभेल गर्ने र विजुलीको पोल हाल्नुपर्ने नियम रहेको धनगढी उपमहानगरपालिकाले बताएको छ। 'बस्ती नै नभएको सडकमा ग्राभेल हाल्ने जिम्मेवारी सरकारको नभएर जग्गा व्यवसायीको हुन्छ,झ उनले भने, ञबस्ती नभएको ठाउँमा ग्राभेल हाल्ने र सडक बनाउने सरकारी नीति छैन।'

धनगढी विमानस्थलको पश्चिमतर्फको सडक पनि भर्खरै ग्राभेल गरिएको छ। विमानस्थल नजिकै रहेको सडक ग्राभेल गर्ने योजना प्रदेश सरकारको भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ। ग्राभेल गरिएको सडक अधिग्रहणभित्र पर्छ वा पर्दैन भन्ने कुरा फिल्डमै गएर हेर्ने र आवश्यक निर्णय लिने पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख इन्जिनियर जगदिश जोशीले दिनेशखबरलाई बताए।

'त्यो योजना प्रदेश सरकारको हो। तर सडक अधिग्रहण हुने क्षेत्रभित्र पर्छ पर्दैन त्यो बुझ्नुपर्छ,झ उनले भने, ञफिल्डमै गएर थप कुरा बुझेर जे गर्न सकिन्छ त्यो गर्छौँ।' प्रदेश सरकारले व्यक्तिगत पहुँचका भरमा विभिन्न योजना दिने गरेको भन्दै आलोचना हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस