बैतडीमा माओवादीको कार्यक्रममा लफडा, एक युवक घाइते (भिडिओसहित)
धनगढीः बैतडीमा नेकपा माओवादी केन्द्रको कार्यक्रममा विवाद भइ हात हालाहाल भएको छ। बुधबार जिल्लाको पुर्चौडी नगरपालिका–१ हाटमा आयोजित कार्यक्रममा उक्त हानाहान भएको हो।
हाटमा माओवादीको नगरपालिका स्तरीय कार्यकर्ता भेला तथा चुनावी तयारीको कार्यक्रम थियो। कार्यक्रममा विवाद भएपछि झडप भएको पुर्चौडी ६ का एक युवक कुटिएको बताइएको छ। माओवादी निकट वाइसियलकै कार्यकर्ताहरुले उनलाई कुटेको स्थानीय बताउँछन्। कुटपिटपछि घाइते भएका विवेकको डडेल्धुरास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
बैतडी प्रहरीले भने घटनाबारे सामान्य जानकारी मात्रै आएको र पार्टीको कार्यक्रम भएकाले हुलहुज्जत भएको हुनसक्ने बताएको छ। घटना र विवाद के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माओवादीका नेता तथा प्रदेश सांसद प्रेमप्रकाश भट्टले पनि भिडमाड बढी भएर नियन्त्रण हुन नसक्दा उक्त घटना भएको जनाएका छन्।