देशभर चप्पलको चरम अभाव भएपछि...
एजेन्सीः रुस युक्रेन युद्धका कारण विश्वमा आर्थिक संकटका साथै ऊर्जा संकटसमेत आउने प्रक्षेपण गरिएको छ। तर, उता बेलायत भने अहिले एउटा अनौठो संकटबाट गुज्रिरहेको छ। बेलायतले अहिले राष्ट्रियस्तरमा चप्पल संकटको सामना गरिरहेको छ। बेलायतमा देशभर नै हाल चप्पलको चरम अभाव देखिएको छ।
चप्पल संकटसँगै बेलायतमा होटल तथा स्पाहरूले आफ्ना ग्राहकहरूलाई घरबाटै चप्पल ल्याउन अनुरोध गर्न थालेका छन्। होटल रेष्टुरेन्ट तथा स्पाहरूले मात्र होइन आम मानिसहरूले पनि बजारमा चप्पल पाउन मुस्किल परिरहेको छ। बेलायती होटल तथा स्पा घरहरूले आफैले चप्पल ल्याउनका लागि अनुरोध गर्ने गरेको कुरा मानिसहरूले ट्रिप एडभाइजर नामक साइटमा खुलासा गरिरहेका छन्। आफैंले चप्पल बोकेर जानुपर्दा निकै समस्या परेको कतिपयको गुनासो छ।
एकजना व्यक्तिले लेखेका छन् – एसेक्सको ग्रिनउड्स होटल एण्ड स्पामा बुकिङ गराएको थिएँ। होटलले एउटा अनौठो इमेल पठायो, जसमा लेखिएको थियो कि चप्पलको राष्ट्रिय अभावका कारण आफ्नै घरबाटै चप्पल ल्याउनु आवश्यक छ किनकि होटलमा चप्पल दिइनेछैन। स्मरण रहोस् बेलायतमा कोरोना महामारी पश्चात् ठूला मालवाहक सवारी साधनका चालकको संख्यामा निकै कमी आएको छ। यसअघि होटलहरूले आम ग्राहकलाई सित्तैमा प्रयोग गर्न दिने चप्पल जस्ता चिजहरू एकैपटकमा ठूलो परिमाणमा खरिद गर्दथे। कोरोनाको समयमा चप्पलको आपूर्ति भएन जसका कारण होटल र स्पाहरूमा चप्पलको कमी भैरहेको छ।
ल्कडाउन अन्त्य भएसँगै जब मानिसहरू घर बाहिर घुम्न निस्किन थाले त्यहीँ बेला होटल, रेष्टुरेन्ट तथा स्पाहरूमा चप्पल, स्याम्पु, टावेल आदिको अभाव देखिंदा ग्राहक तथा व्यवसायी दुवै मर्कामा परेको बताइन्छ।