सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी तीव्र, साढे १६ लाख मतदाता
धनगढी : निर्वाचन अधिकृत तोकिएसँगै सुदूरपश्चिम प्रदेशमा निर्वाचनको तयारी तीव्र पारिएको हो। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरुले तयारी तीव्र पारेका हुन्।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका निमित्त प्रमुख प्रेम भट्टले वैशाख ३० गतेको निर्वाचनका लागि तयारी तीव्र पारिएको बताए। ‘मतदाता नामावली प्रकाशन गरेका छौ,' उनले भने, 'मतदाता शिक्षा, मतदाता सामाग्री लगायतको कामका लागि मतदाता नामावली आवश्यक हुन्छ। निर्वाचनका लागि हामीलाई आवश्यक पर्ने जनशक्तिको विवरण तयार पारेका छौ।’
निर्वाचन आयोगले प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रत्येक पालिकामा निर्वाचन अधिकृत तोकिसकेको छ। यस्तै अन्तिम मतदाता नामावली पनि सार्वजनिक भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि निर्वाचन हुनेछ। त्यसका लागि प्रदेशका झण्डै साढे १६ लाखले मतदान गर्न पाउने भट्टले बताए।
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १६ लाख ४२ हजार एक सय ६१ जनाले मतदान गर्न पाउने भएका हुन्। प्रदेशमा आठ लाख ६ हजार पाँच सय ३६ पुरुष, आठ लाख ३५ हजार छ सय ७ महिला तथा १८ तेस्रो लिङ्गी मतदाता छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा ७ सय ३४ वडाहरु रहेका छन्।
निर्वाचनका लागि आवश्यक जनशक्तिको विवरण, मतदानस्थलको अनुगमन, स्थानीय तहसँगको समन्वयमा सडक मार्गको अवस्था बुझ्ने लगायतको काम पूरा भएको छ। वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोग तयारीमा रहेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रत्येक जिल्ला सदरमुकाममा रहने छ। प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय रहने निर्वाचन आयोगले जनाएको छ।