सुदूर नेपाललाई विश्वसँग जोड्दै

थ्री गर्जेजले हेलिकप्टर मार्फत फिर्ता लग्यो पश्चिम सेती निर्माणको सामाग्री

२०७५ माघ १७, ०३:४२ खबर संवाददाता

चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजनाबाट हात झिकेपछि निर्माण सामाग्री हेलिकप्टर मार्फत फिर्ता लगेको छ। थ्री गर्जेजले निर्माण स्थलबाट निर्माण सामाग्री फिर्ता लगेको हो। डोटीको बानेडुग्रीसैनबाट केही सामान गाडी मार्फत लगिसकेको थ्री गर्जेजले अन्य सामान भने सिम्रिक एअरको हेलिकप्टर मार्फत फिर्ता लगेको हो। निर्माण सामाग्री पनि निर्माण स्थलबाट फिर्ता लगिएपछि स्थानीय वासिन्दामा आयोजना निर्माण हुनेमा आशंका झन बढेको छ। 

थ्री गर्जेजले हात झिकेपछि ३६ बर्षदेखि अल्झिएको पश्चिम सेतीलाई कसरी अगाडी वढाउने भन्ने अन्यौलता सुल्झाउन सरकारी पक्षकै आलटाल भईरहेको छ। चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनावाट हात झिकेपछि निर्माणको खाँका तयार पार्न दुई मन्त्री सहितको तीन सदस्यीय टोली अध्ययन टोली गठन गर्दै निर्माणको मोडालिटी माग गरिएकोमा उनीहरुबाटै काममा लापरवाही र ढिलासुस्ती भईरहेको छ। सो समितीले ५ सदस्यीय प्राविधिक टोली बनाएर अध्ययन गर्न लगाएकोमा हाल आएर अध्ययन समिती पनि संयोजक विहीन भएको छ।

सरकारले ३६ वर्षदेखि अलपत्र अवस्थामा परेको पश्चिम सेतीलाई कुन रुपमा निर्माण गर्ने भनेर अध्ययन गर्न वनाएको टोलीले प्राविधिक सल्लाह सहितको प्रतिवेदन सरकारलाई बुझाउनका लागि आलटाल गरिरहेको आरोप लागेको हो। टोली गठन भएको चार महिना हुन लाग्दा पनि प्रतिवेदन सरकारलाई वुझाईएको छैन। सो प्रतिवेदन सरकारलाई बुझाईएपछि त्यसको खाँकाले अन्तिम रुप पाउने छ। 

७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउनका लागि लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गोर्जेजलाई खारेज गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे थप अध्ययन गर्नका लागि समिति गठन गरेकोमा सो समितीले  पनि प्राविधिक बिषयमा अध्ययन गर्न उप समिती गठन गरेकोमा समितीले काम नसक्काउँदै समिती संयोजक विहीन भएको छ।

उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा रहेको टोलीबाट घिमिरेलाई मन्त्रालय वोलाईएपछि प्राविधिक अध्ययनको काम पनि अलपत्र परेको छ। अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, नेपाल विद्युत प्राधिकरणका उप निर्देशक जयदिश्वर सिंह जल तथा उर्जा विभागका डाक्टर महेश्वर श्रेष्ठ र लगानी बोर्डका सुनिल पौडेल सम्मिलित प्राविधिक समितीले काम अन्तिम चरणमा पुराए पनि समिती संयोजक विहीन हुँदा हाल काम अगाडी नवढेको समितीका एक जना सदस्यले बताए। 
 

कमेन्ट लोड गर्नुस