महेन्द्रनगरका वर्माले टिकटक लाइभ बसेरै किने काठमाडौंमा दुई करोडको घर
धनगढीः कञ्चनपुरका युवा अन्श वर्माले टिकटक लाइभ बसेर गरेको आम्दानीले काठमाडौंमा घर किनेका छन्। महेन्द्रनगरका २३ वर्षे वर्माले केही दिनअघि काठमाडौं उपत्यकाको ललितपुरमा दुई करोडको घर किनेको बताए। यसअघि पनि टिकटकबाटै कमाएको पैसाले महेन्द्रनगरमा घर र गाडी किनेको बताएका थिए।
दुई वर्षयता टिकटकमा दैनिक १२ देखि १८ घण्टासम्म लाइभ बस्ने उनले मासिक लाखौँ रकम कमाउने गरेका छन्। टिकटक लाइभ बसेर आफूले करिब अढाई करोड रुपैयाँ कमाएको उनको दाबी छ। टिकटकमा चर्चित व्यक्तिले लाइभमा फ्यान, फलोअर्सबाट गिफ्टहरू पाउँछन्। ती गिफ्टहरू डाइमन्डमा रूपान्तरण गरिन्छ। त्यसपछि बैंकमार्फत नगद निकाल्न सकिन्छ।
अन्श वर्मा कञ्चनपुर भीमदत्त नगरपालिका गड्डाचौकीका हुन्। टिकटकमा पाएको सफलतापछि उनी समाजसेवामा समेत सक्रिय छन्। बोल्नमा माहिर उनलाई लाइभ बसेका बेला गालीगलौज गर्नेहरू पनि कम छैनन्। तर टिकटकबाट भएको आम्दानीको केही हिस्सा समाजसेवामा समेत लगाउन थालेपछि आफ्ना आलोचक घटेको अन्श बताउँछन्।