सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा कोरोना खोप केन्द्र, तीनै मात्रा लगाउन पाइने

२०७८ चैत्र ९, ०८:४३ खबर संवाददाता

धनगढी: धनगढीमा बिहीबारदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सव स्थलमा खोप केन्द्र स्थापना गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका, बागेश्वरी असल शासन क्लब (बास) नेपाल, युनिसेफ लगाएत विभिन्न संघसंस्थाको सहयोगमा संयुक्त रुपमा खोप केन्द्र राखीएको हो। उक्त खोप केन्द्रमा कोभिड १९ विरुद्धको पहिलो, दोस्रो तथा बुस्टर डोज खोप लगाउन पाइने बास नेपालका सामाजिक परिचालक तेज बोहराले जानकारी दिए।

उनले भने–‘धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ उक्त खोप केन्द्र स्थापना गरिएको हो। खोप लगाउन छुटेका सबैले खोप केन्द्रमा आएर खोप लगाइदिनु होला।’ चैत २० गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखी नै खोप लगाउन मिल्ने उनले जानकारी दिए । यस्तै आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सव स्थलमा खोप केन्द्र स्थापना हुनु राम्रो पक्ष भएको बताए।

उनले महोत्सवमा रमाइलो संगै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खोप केन्द्र स्थापना गरिएकोमा धन्यवाद ज्ञापन गर्दै महोत्सव आउने सम्पुर्ण दर्शकलाई खोप लगाउन आह्वान गरे । बुधबार महोत्सव स्थलमै पुगेर धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले कोरोना खोप लगाउन छुटेका नागरिकहरुको लागि खोप केन्द्र स्थापना गरिएको बताए। उनले भने–‘कोहीले पहिलो डोज लगाएर दोस्रो लगाउन छुटेका छन्, कोहीले दोस्रो लगाएर बुस्टर डोज लगाउन पाएका छैनन् उनिहरुको लागि खोप केन्द्र स्थापना गरिएको हो।

धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ महोत्सवमा खोप केन्द्र स्थापना गरिएको हो ।’ मेयर वडले खोप केन्द्र स्थापनाको लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्दै सबैलाई खोप केन्द्रमा आएर खोप लगाउन आह्वान गरे । भोलिबाट सुरु हुने महोत्सव २० गतेसम्म चल्ने छ।

महोत्सवको उद्घाटन भोलि दिउँसो २ बजे सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले गर्ने छन् । त्यसअघि बिहान १० बजे प्रभातफेरीको आयोजना गरिएको छ । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

कमेन्ट लोड गर्नुस