सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सहिदगेट–क्याम्पस गेट सडक कहिले हुन्छ कालोपत्रे ?

२०७८ चैत्र ९, ०४:१७ कमल सावद

धनगढी: धनगढीको मुख्य सडकपछि सबैभन्दा बढी आवागमन हुने सहिद गेट–क्याम्पस गेट सडक कालोपत्रेको चरणमा पुगेको छ। उक्त सडक एशियाली विकास बैँकको ऋण सहयोगमा कार्यान्वयनको चरणमा रहेको हो। तर संघीय सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रममार्फत निर्माणाधीन उक्त सडकको क्षेत्राधिकार खाली नभएकाले सबै क्षेत्रमा नाली निर्माण गरिएको छैन। 

सडक निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेललले वैशाखको पहिलो साता सडक कालोपत्रेको लक्ष्य रहेको बताए। उनका अनुसार उक्त सडकखण्डको डिभोटी–पिपल चौतारा सडकमा फुटपात, बेसको काम पूरा भएको छ। सडक बाहिरको पानीका लागि निर्माण थालिएको छ। चैत १२ गतेबाट डिभोटी–पिपलचौतारा सडक कालोपत्रेको काम थालिने उनले बताए। ‘सहिद गेट–क्याम्पस गेट सडकमा बेसको काम थालेका छांै। तर केही ठाउँमा घरहरु परेका छन्। बिजुलीको काम पनि भएको छैन। वैशाख पहिलो साताबाट कालोपत्रे गर्न लक्ष्य हाम्रो छ,’ उनले भने।

वैशाखको पहिलो हप्ता साढे ३ किलोमिटरको सहिदगेट–क्याम्पसगेट सडक कालोपत्रे गर्ने लक्ष्य निर्माण कम्पनीको छ। तर सडकको नाली निर्माणको काम पनि पूरा भएको छैन। सडकको क्षेत्राधिकार रहेको १६ मिटर भित्रका संरचना खाली नभएकाले नाली निर्माणको काम गर्न सकिएको छैन। 

सडक कालोपत्रेका लागि बेस, सव–बेस लगायतको काम थालिएको भए पनि नाली निर्माणको काम पूरा नभएको सडक निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि खरेलले बताए। उनले भने, ‘विवाद भएको ठाउँबाहेक अन्य ठाउँमा कालोपत्रेको तयारीमा छौं। हसनपुर, लभ्लीचोकमा नालीको काम हुँदैछ। एक महिनामा सक्छौ। क्याम्पस रोडमा पनि काम जारी छ। गुल्मचर्च पनि एक महिनामा काम सकिन्छ।’

सडकको क्षेत्राधिकार खाली नहुँदा सवारी जाम हुने उक्त सडकखण्डको चोकहरुमा सबैभन्दा बढी नाली बाङ्गो निर्माण गरिएको छ। सडकका संरचना निर्माण हुने १६ मिटर भित्रका निजी भौतिक संरचना खाली गराउन धनगढी उपमहानगरपालिका असफल देखिएको छ। तारानगर, उत्तरबेहडी चोक, हसनपुर क्षेत्रमा सडकको क्षेत्राधिकार खाली नभएको क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका प्रमुख प्रविन श्रेष्ठले बताए। ‘सडकको क्षेत्राधिकार खाली गर्ने काम उपमहानगरपालिकाको हो। हामीले भनेका पनि छौ। काम गर्दै जानुहोस खाली भैहाल्छ भन्नुभएको छ। कालोपत्रे गर्नसम्म  क्षेत्राधिकार खाली हुन्छ होला,’ उनले भने।

विद्यालय नजिक तथा ट्राफिक जाम हुने चोकहरुमा सडकमा पर्ने निजी भौतिक संरचनाहरु खाली नभएका हुन्। सहिदगेट–क्याम्पसगेट सडकका धेरै स्थानमा क्षेत्राधिकारको विवाद छ। मुख्यमन्त्रीको पुरानोे निवास भएको उत्तरबेहडी चोक, तारानगर चोक, हसनपुर क्षेत्र, शिवनगर तथा क्याम्पस रोडलगायतका क्षेत्रमा सडकको क्षेत्राधिकारको विवाद रहेको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए।

उनका अनुसार उपमहानगरपालिकाले अमिन ल्याएर सडक र नागरिकको जमिनको क्षेत्र नापेको थियो। तर स्थानीयले उपमहानगरपालिकाको नापीमा विवाद गर्दै आएका छन्। ‘उहाँहरुले जमिन छोड्दैनों भन्नुभएको होइन। नापीमा चित्त नबुझेको हो। हामी पनि नापीको टोली लगेर जान्छौ। उहाँहरु मानिहाल्नु हुन्छ। वैशाखसम्म खाली भइहाल्छ,’ वडा नम्बर १ का अध्यक्षसमेत रहेको प्रवक्ता मुडभरीले भने। 

धनगढी उपमहानगरपालिकाले क्षेत्रीय सहरीमार्फत निर्माण हुने सडक क्षेत्रमा परेका संरचना आफै खाली गर्नेलाई सम्मानसमेत गरेको थियो।  तर २४ मिटर चौडाइ क्षेत्राधिकार भएको सो सडकमा १६ मिटरमा मात्र सडक संरचना निर्माण हुने भएपनि केही स्थानका क्षेत्र खाली गराउन उपमहानगरपालिका असफल देखिएको छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस