उपमेयर कप महिला क्रिकेट : थालिगडा र ग्वाल्लेक सेमिफाइनलमा
बैतडी: बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको उपमेयर कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताअन्तर्गत साविक विजेता थालिगडा र ग्वाल्लेक सेमिफाइनलमा प्रवेश गरेका छन्। आज सम्पन्न खेलमा दनपा–५ दशरथचन्दलाई ९ विकेटले पाखा लगाउँदै दनपा–६ थालिगडा अन्तिम चारमा प्रवेश गरेको हो।
निङ्ग्लाशैनी खेल मैदान देहिमाडौँमा दशरथचन्दले दिएको ४४ रनको झिनो लक्ष्य थालिगडाले ६.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि दिव्या कार्की र दमयन्ती ओडले अविजित १३/१३ रन बनाइन्। बलिङतर्फ दशरथचन्दकी निलम टमाटाले एक विकेट लिइन्।
त्यसअघि पहिला ब्याटिङ गरेको दशरथचन्दले १६.३ ओभरमा सवै विकेट गुमाएर ४३ रन मात्र बनाउन सक्यो। बलिङतर्फ थालिगडाकी पूजा कार्की र दमयन्ती ओडले २/२ विकेट हात पारिन्। दमयन्ती वुमन अफ दी म्याच घोषित भएकी स्कोरर द्रोपती कुँवर बोहराले जानकारी दिइन्। दशरथचन्द प्रतियोगिताबाट बाहिरिएको छ।
यस्तै समूह ‘ए’ बाट ग्वाल्लेक पनि सेमिफाइनल प्रवेश गरेको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा यही चैत ५ गतेदेखि सुरु भएको प्रतियोगितामा सात टोली सहभागी थिए। प्रतियोगिताको उपाधि विजेताले ४५ हजार तथा उपविजेताले ३० हजार पुरस्कार प्राप्त गर्ने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट सञ्चालन गरिँदै आएको छ। यसअघि चौथो संस्करणको उपमेयर कपको उपाधि थालिगडाले नै देहिमाडौँलाई ९ विकेटले हराउँदै जितेको थियो।