यात्रुवाहक विमान दुर्घटनापछि उद्धार कार्य जारी
नानिङ, चीन: दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ। उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ।
दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ। दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको ड्रोन उद्धार केन्द्र र विमानको गन्तव्यसमेत रहेका उद्धारकर्ता झू सियाओडोङले उक्त स्थानमा पुग्ने केही बाटोहरू मात्र भएकाले उद्धार कार्य गर्न कठिन भएको बताएका छन्।
मंगलबार बिहान साढे ७ बजे उद्धारस्थलमा हल्का वर्षा भएको थियो। स्थानीय मौसम विभागले मंगलबारदेखि बिहीबारसम्म यस क्षेत्रमा थप वर्षा हुने अनुमान गरिएको छ। यसैकारण खोजी कार्यमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ।
कुनमिङबाट गुआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।