होलीमा सार्वजनीक स्थानमा झगडा गर्ने ३ जना पक्राउ
काठमाडौंः फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन्।
गत बिहीबार होलीका वेला किशोरकिशोरीबीच भएको झगडाको विषयलाई लिएर शुक्रबार कोहिटीमा गएर दुईजनालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले नाइन स्टिक (दुईतिर काठ र बीचमा सिक्री भएको सामाग्री) ले प्रहार गरेर १८ वर्षीय साजन लामा र अर्का एकजनालाई घाइते बनाएका थिए।
घटनालगत्तै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा खबर गरेका थिए। त्यसक्रममा प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी) पुगेको थियो। त्यतिवेला प्रहरीसँग पनि सामान्य घम्साघम्सी भएको थियो। तर झगडा गर्नेहरु पक्राउ परेका थिएनन्, प्रहरीले दुई जना पीडितलाई उद्दार गरेर ट्रमा सेन्टर पु¥याएको प्रहरी जनाउँछ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न मुलुकी अपराध संहिता, २०७४ को अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन म्याद थप गरिएको जनाइएको छ।