सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैजी–जोगबुढा सडकको कञ्चनपुर खण्ड कालोपत्रे पूरा नहुँदै बगाएपछि सास्ती

दैजी–जोगबुढा सडक खण्ड
दैजी–जोगबुढा सडक खण्ड
२०७८ चैत्र ६, ११:३१ कमल सावद

धनगढीः कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा हुँदै मेलौली जोड्ने सडकको लम्बाई ८२ किलोमिटर छ। दैजी बजारदेखि चुरेसम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार कार्यालय कञ्चनपुरले ठेक्का सम्झौता गरेको छ। दैजीदेखि लिपनासम्म १७ किलोमिटर लम्काई रहे पनि एक किलोमिटर सडक कालोपत्रेको ठेक्का भएको छैन। २१ करोडमा १६ किलोमिटर मात्र सडक कालोपत्रेको ठेक्का गरिएको हो। 

तर सडक कालोपत्रेको काम पूरा नहुँदै पानीले बगाएको छ। वेदकोट ताल क्षेत्रको सडकको कालोपत्रे बर्सातको पानीले बगाएको हो। उक्त क्षेत्रमा निर्माण कम्पनीले सडक मर्मतको काम थालेको पूर्वाधार कार्यालय कञ्चनपुरका प्रमुख ईन्जिनियर दीपक नेगीले बताए। ‘दैजीबजारदेखि डाँडासम्मको १६ किलोमिटर कालो पत्रेका लागि ठेक्का गरेका छौं। बर्सातको पानीले सडक भत्काएको छ। पहिरो गएका छन्। वालहरु भत्किएका छन्’ उनले भने, ‘भत्किएका ठाउँमा निर्माण कम्पनीले बनाउछ। नयाँ पहिरो गएका ठाउँका लागि बजेट माग गरेका छौ। फाइल मन्त्रालयमा पठाएका छौं।’ 

अत्तरिया–डडेल्धुरा–बैतडीको लम्बाई झण्डै तीन सय किलोमिटर छ। डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाका नागरिकको छोटो दूरीको सडक यातायातका लागि दैजी–जोगबुढा सडक २०३६ सालबाट निर्माण थालिएको हो। तर निर्माण सुरु भएको ४२ वर्षसम्म ८२ किलोमिटर सडक कालोपत्रे भएको छैन। चालू आर्थिक वर्षमा सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले साढे पाँच करोड विनियोजन गरेको छ। गत वर्षहरुमा गरिएको ठेक्कासँगै नयाँ ठेक्काको कार्यक्रम भए पनि ठेक्का सम्झौता भएको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख श्यामबहादुर खड्काले बताए। ‘कालोपत्रेको काम प्रक्रियामा छ। नाली निर्माणको काम हुँदैछ। २ किलोमिटर जति कालोपत्रे भएको छ,’ खड्काले भने।

सडक निर्माणको काम पूरा भए तराईबाट डडेलधुरा, बैतडी, दार्चुला र बझाङसम्मको दूरी आधा कम हुनेछ। नामको मात्र ट्रयाक खोलिएको उक्त सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक गौरवको सडकमा समावेश गरेको थियो। सडक डिभिजन कार्यालय महेन्द्रनगर र कुलपाते डोटीेले दैजी–जोगबुढा सडकमा झण्डै ५० करोड लगानी गरेपछि सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेको हो। डडेल्धुरा क्षेत्रमा पनि २ किलोमिटर सडक कालोपत्रे गरिएको छ। तीन किलोमिटर सडक कालोपत्रेका लागि चालू आर्थिक वर्षमा ठेक्का सम्झौताको तयारी थालिएको पूर्वाधार कार्यालय डडेल्धुराले बताएको छ। 

दैजीदेखि चुरेको लिपनासम्म पूर्वाधार कार्यालय महेन्द्रनगर र लिपनादेखि माथि डडेल्धुराले सडक निर्माणको जिम्मा पाएको छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस