सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको मझगाउँ विमानस्थल १५२५ मिटरमा विस्तार गरिँदै

२०७८ चैत्र ३, ११:०९ कमल सावद

धनगढीः माओवादी द्धन्दपछि गौचरण बनेको कञ्चनपुर मजगाउँ विमानस्थल विस्तारको काम थालिएको छ। २० वर्षदेखि बन्द रहेको विमानस्थल विस्तारका लागि कान्छाराम÷कुमार÷उमा एण्ड कम्पनीसँग ४५ करोड ६६ लाख ७ सय १५ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ।  तीन वर्षमा काम पूरा गर्ने गरि निर्माण कम्पनीले काम गर्र्दैछ।

निर्माण कम्पनीले माथिल्लो तहको खुकुलो माटो, झाडी र बुट्यान सफा गर्ने काम गरिरहेको छ। धावन मार्गमा ग्रावेल तथा सव–बेसको काम पनि थालिएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मीनराज ओझाले भने, ‘विमास्थल सञ्चालनका लागि साझेदारीमा काम सुरु भएको छ। निर्माणको काम जारी छ। पहिलो फेजमा रन वे, ट्याक्सी वेको काम छ। ट्रमिनल बिल्डिङहरु दोस्रो फेजमा हो।’

निर्माण कम्पनीले स्तरीय माटो भरान तथा सवग्रेडको काम थालेको छ। निर्माण कम्पनी आवश्यक सामग्रीको व्यवस्थापनमा लागेको छ। एक हजार मिटर लम्बाई रहरेको धावनमार्ग पहिलो चरणमा एक हजार ५ सय २५ मिटर बनाइने छ। दोस्रो चरणमा तीन सय मिटर धावनमार्ग थपिने नेपाल नागरिक उड्यन प्राधिकरणले बताएको छ। ६६ बिघा क्षेत्रमा फैलिएको विमास्थलका लागि शुक्लाफँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको खेल मैदान रहेको क्षेत्रको जमिन आवश्यक पर्नेछ। ‘प्रति जग्गा छ। निकुञ्ज र सेनाको क्षेत्र रहेछ। स्थानीय र प्रदेश सरकारबाट पहल हुँदैछ। खासै समस्या छैन’ ओझाले भने।

मझगाउँ विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रूपैयाँ जम्मा गरिएको छ। विमानस्थल निर्माणमा बजेटको अभाव हुन नदिने दोधारा–चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले बताए। ‘रकमको कमी हुँदैन होला। उहाँहरुले काम सुरु गर्नु भएको छ। कुनै समस्या छैन,’ उनले भने।
विस २०३० सालमा सञ्चालनमा आएको मजगाउँ विमानस्थल द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस