सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीका जनप्रतिनिधिको कार्यकाल असफल भएको टिप्पणी

स्थानीय तह समिक्षा

२०७८ चैत्र २, ०६:०३ नारायण अवस्थी

धनगढी: मुलुकमा संघीय संरचना लागू भएपछि पहिलोपटक २०७४ मा स्थानीय तहको निर्वाचन भयो। जसमा नागरिकका अपेक्षाहरु पूरा गर्नका लागि विभिन्न प्रतिवद्धतासहित राजनीतिक दलहरु चुनावी मैदानमा उत्रिएका थिए। उम्मेदवारहरुका प्रतिवद्धता र घोषणाका आधारमा कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी र उपप्रमुखमा नेकपा एमालेका चित्रकुमारी चौधरी विजयी भएका थिए। 

तर नगरवासीले नगरप्रमुख र उपप्रमुखका चुनावी घोषणाअनुसार काम नभएको टिप्पणी गरेका छन्। प्रमुख र उपप्रमुखले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले याे ५ वर्षमा नगरलाई १० वर्ष पछाडि धकेलेको आरोप नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार रहेका हरेन्द्र विष्टले लगाएका छन्। ‘विकासको भिजनको अभावमा नगरप्रमुखले ५ वर्ष खेर फाल्ने काम गरेका छन्’ उनले अरोप लगाउदै भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण तथा सुशानको क्षेत्रमा उल्लेख गर्न लायक बेलौरीमा काम हुन सकेन।’ 

अधिकार सम्पन्न स्थानीय तहले जनताबाट निर्वाचित जनप्रतिनिधि पाएको पाँच वर्षमा नगरको विकासमा उल्लेख्य काम नभएको बताइएको छ। निर्वाचित प्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढ्दो छ।  बेलौरीमा निर्वाचित जनप्रतिनिधिले चुनावको समयमा नगरपालिकामा रिङरोड निर्माण गर्ने, कृषिमा क्रान्ती गर्ने, खानेपानीको व्यवस्था गर्ने, सुशासन कायम गर्ने, नगरपालिकमा पर्ने पर्यटकीय क्षेत्रको विकास गर्ने, स्थानीय स्रोतलाई पहिचान गरी बेलौरीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए।

तर यी सबै नाराहरु पूरा गर्न जनप्रतिनिधिले नसकेको भए पनि आंशिक काम भने भएको बेलौरीका स्थानीय यज्ञराज कँडेलले दिनेशखबरलाई बताए। ‘५ वर्षमा कुनै काम नै भएन भन्ने त होइन, फेरि जम्मै काम भएको छ भन्ने अवस्था पनि छैन’ उनी भन्छन्, ‘बेलौरी कलुवापुर सडक, हुलाकी सडकको निर्माणले बेलौरीलाई सुगम बनाएको छ।’

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा पनि नगरपालिकाका प्रमुख÷उपप्रमुखले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताइएको छ। नगरपालिकामा पर्ने विभिन्न सडक निर्माण तथा बेलौरी नाका खोल्न नसकेको सर्वसाधारणले बताएका छन्। अहिलेको नेतृत्वकै कारण नगरको विकास निकै पछाडि धकेलिएको नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार रहेका पल्लवराज भट्टको भनाई छ। ‘चुनावी घोषणाअनुसार बेलौरीमा केही पनि काम भएको छैन।’ उनले भने, ‘नगरप्रमुखले सहमति र सहकार्य गर्न नसक्दा विगतमा भीमदत्त नगरपालिकाकै हाराहारीमा रहेको नगरपालिका अहिले सबैभन्दा कमजोर सावित भएको छ।’  

बेलौरी नगरपालिकाका नगरप्रमुखको कारण संघ र प्रदेश सरकारबाट समेत विकास बजेट पालिकामा कम आएको दाबी गरिएको छ। नगरपालिकामा सुशासन दिन नसकेको, विकास बजेटलाई पारदर्शी रुपमा उपयोग गर्न नसकिएको तथा बेलौरी नगरपालिकाको बेरुजू नै २० करोड बढी रहेको राजनीतिक दलका नेताहरुले आरोप लगाएका छन्। तर नगरप्रमुख चौधरीले भने सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सुशासनको क्षेत्रमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्। ‘नगरपालिकामा चुनावी प्रतिवद्धताअनुसार निकै धेरै काम भएको छ’ उनले भने, ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन विकास र बेलौरीलाई आधुनिक सहर बनाउन दीर्घकालिन सोचका साथ योजना अगाडि बढेका छन्।’
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस