सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर पुगेर महरले भनेः काँग्रेस जनताको मन जितेर मत जित्न चाहन्छ

२०७८ फाल्गुन २८, १०:४५ खबर संवाददाता

कञ्चनपुर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली काँग्रेसले स्थानीय निर्वाचन लक्षित ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ। एक महिने उक्त अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनताको मन जित्न सके मत आफै प्राप्त हुने बताएका हुन्।

'काँग्रेस देशको जिम्मेवार पार्टी हो। कम्युनिस्टले दुई तिहाइको सरकार बनाएर पनि केही गर्न सकेनन्। देश अप्ठ्यारो अवस्थामा पुग्दा काँग्रेसले नै सत्ता सम्हाल्नुपर्‍यो,' उनले भने। 'नि:शुल्क स्वास्थ्य शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार, उद्यमशीलता र रोजगार : जनताको अधिकार, काँग्रेसको सरकार' भन्ने आफ्नो एजेण्डा रहेकोले यसको कार्यान्वयनतर्फ लाग्नु आजको आवश्कता रहेको उनले बताए। 

उनले काँग्रेसलाई जन-जनको मन-मनको पार्टी बनाउनुपर्ने धारणा राखेका छन्। एमालेले गफतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै, अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले काँग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे। 'हामी प्रत्येक वडामा पुगेर जनतालाई काँग्रेसले गरेका सकरात्मक कार्यका बारेमा जानकारी गराउने छौँ। हामी धेरै बोल्दैनौँ। भ्रमको खेति पनि गर्दैनौँ। काँग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारीपूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ,' उनले भने। महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताएका छन्।

केही कारणवश चाहेअनुरुप काम गर्न नसके पनि काँग्रेसले आफ्नो अभिभारा नभुलेको उनले बताए। 'हामी मजदुरको घरमा पुग्ने छौं। बुद्धिजिवीका विचार सुन्ने छौँ। जनताका अपेक्षा सुन्ने छौँ। काँग्रेसका योजना सुनाउने छौँ। अब हामी जनतासँग हुने छौँ,' उनले भने। राजनीति जनताका लागि गरिने भएकाले काँग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस