सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको मेयरमा काँग्रेसबाट ३ जना आकाङ्क्षी

२०७८ फाल्गुन २५, ११:५३ खबर संवाददाता

धनगढी : सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै सुदूरपश्चिमको राजधानी कैलालीमा चुनावी माहौल गर्माएको छ। जिल्लाका १३ वटा स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाएपछि प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। 

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पनि चुनावी माहौल तातेको छ। निर्वाचनको मिति नजिकिएसँगै उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट तीन जनाको नाम चर्चामा छ। धनगढी उपमहानगरपालिकाका अहिलेका मेयर नृपबहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट र नेता कृष्णबहादुर महरा आकाङ्क्षी देखिएका हुन्। 

तीनै जना संस्थापन पक्षका हुन्। अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन्। ०७४ को निर्वाचनमा वड स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७ सय मतले पराजित गर्दै विजयी भएका थिए। उनले अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै लबिङ सुरु गरेका छन्। 

तर काँग्रेसको जिल्ला कार्यसमितिले भने मेयरमा वडलाई नरुचाएको धनगढीका एक नेता बताउँछन्। ‘भर्खरै निर्वाचित जिल्ला नेतृत्व मेयरमा कृष्णबहादुर महरालाई अगाडि बढाउन खोजिरहेको छ,’ ती नेताले भने, ‘हुन त मेयरको टिकट टुंगो लगाउने अधिकार प्रदेश समितिलाई दिइएको छ।’ 

काँग्रेस सभापति शेरबहादुर देउवाले अगाडि सारेका नारायणदत्त भट्ट जिल्ला सभापतिमा विजयी भएका छन्। ‘केन्द्रीय सभापतिको निर्देशनका कारण धनगढीका मेयर वड इच्छा नभएर पनि भट्टको साथमा देखिएका थिए,’ कैलाली काँग्रेसका एक पदाधिकारी भन्छन्, ‘वडले भट्टलाई खुलेरै सहयोग नगरेको बुझाई वर्तमान जिल्ला नेतृत्वको छ। पार्टीको आन्तरिक चुनावपछि मेयरमा फेरि वडले नै टिकट पाउने सम्भावना केही कम भएको छ।’

तर दोस्रो चरणको चुनावमा सभापतिमा भट्टलाई जिताउन वडले महत्वपूर्ण भूमिका खेलेका कारण मेयरको टिकट फेरि वडले नै पाउने अर्को पक्षको बुझाई छ। यता व्यवसायी तथा काँग्रेस नेता महराले पनि मेयरमा आकांक्षा व्यक्त गरिसकेका छन्। ०७४ को निर्वाचनमा पनि उनले टिकट पाउने निकै चर्चा थियो। काँग्रेसका तत्कालिन नेता पुष्करनाथ ओझा लगायतले मेयरमा महरालाई लडाउन केन्द्रमा लविङ गरेका थिए। तर अन्तिम समयमा ओझाले वडको नाममा सहमति गरेपछि महराले टिकट नपाएको चर्चा ०७४ को निर्वाचनमा थियो। 

अघिल्लोपटक आकांक्षा राख्दा पनि मेयरको टिकट नपाएका कारण यसपटक महराले पाउने सम्भावना बलियो रहेको काँग्रेस कैलालीभित्र चर्चा छ। धनगढीकी उपमेयर भट्टले स्पष्ट रुपमा उपमेयरमा नदोहरिने बताइसकेकी छिन्। उनले मेयर वा प्रदेशसभाको टिकटका लागि लविङ सुरु गरेकी छिन्। काँग्रेसले नगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउने जिम्मा सुदूरपश्चिम प्रदेश समितिलाई दिएको छ। तर प्रदेश समितिले केन्द्रको निर्देशनअनुसार नै उम्मेदवार तय गर्नेमा काँग्रेसका नेता–कार्यकर्ता स्पष्ट छन्। 
 

कमेन्ट लोड गर्नुस