सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्या आरोपी बहराइनबाट पक्राउ

२०७८ फाल्गुन २४, ०८:४१ रासस

काठमाडौँ: हत्याका आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ। कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन्। विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए। उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा  ‘रेड नोटिस’ जारी गरिएको थियो। 

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ।  
 

कमेन्ट लोड गर्नुस