सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली नदीमा भारतले चलायो स्काभेटर, नागरिकबीच ढुंगा हानाहान

२०७८ फाल्गुन २४, ०६:१९ खबर संवाददाता

धनगढीः दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतको ज्यादति बढेको छ। आज (मंगलबार) मात्रै भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ। तटबन्ध निर्माण कार्य गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

यसै क्रममा सो क्षेत्रमा नेपाल र भारतका स्थानीय नागरिकबीच ढुंगा हानाहान समेत भएको बताइएको छ। भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद सुरु भएको थियो। दार्चुला प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर धार परिवर्तन गरेपछि दुवै देशका नागरिकबीच ढुंगा हानाहान भएको हो। 

महाकाली नदीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गररहेको उनले बताए। नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाई छ।

ढुंगा हानाहानपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरवितर गरिएको थियो। ‘अहिले ढुंगामुढा र विरोध रोकिएको छ। उनीहरुले स्काभेटर फिर्ता लगेका छन्,’ प्रजिअ उपाध्यायले भने, ‘हामीले समन्वय गरेर मात्रै काम गर्न भनेका छौ। नेपालको भूमिमा स्काभेटर नचलाउन समेत जानकारी गराएका छौ।’ 
 

कमेन्ट लोड गर्नुस