नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानको चासो
नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानले चासो देखाएको छ। नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गर्दै यस्तो चासो देखाएको हो।
जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेको हो। भेटका क्रममा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए। उनले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको पनि बताए।
‘नेपालमा के–कस्ता सम्भावनाहरु छन, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ, उप–महानिर्देशक ताकामीले भने। सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव रहेको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरु इच्छुक पनि उनले मन्त्री पुनसँगको भेटमा बताएको थियो।
मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको बताउँदै सिंचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा अबका दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। नेपालको कृषि क्षेत्रको विकासको लागि सिंचाइको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाएको जापानी टोलीलाई जानकारी दिए।
भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगोसमेत सहभागी थिए। उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको बेला कृषि क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए। रासस