१०५ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौँमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी काठमाडौँ उपत्यकामा २५ कोभिड सङ्क्रमित थपिएका छन्। योसँगै काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २९० पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० कोरोना सङ्क्रमणमुक्त भएका छन। त्यसैगरी हाल सात हजार ५१७ सक्रिय सङ्क्रमित रहेका छन्। तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
कोरोनाका बिरामीमध्ये ६१ आइसीयु र नौ जना भेन्टिलेटरमा उपचाररत् छन्। हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख १६ हजार ७६१ रहेको छ। नौ लाख ५७ हजार ८०८ सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४३ पुगेको छ।