सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको धामीगाउँबाट पालिकाका सेवा प्रवाह गर्न प्रशासनको आग्रह

२०७८ फाल्गुन १७, ०१:०७ रासस

बैतडी : बैतडीको डिलासैनी गाउँपालिकालाई वडा नम्बर ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। डिलासैनी गाउँपालिकाले अहिले वडा नम्बर ३ को पङसेरामा रहेको महादेव माविको भवनबाट सेवा दिँदै आएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको केन्द्र धामीगाउँबाट सेवा सञ्चालन गर्न यही फागुन १३ गते पत्र पठाएकाले सोही अनुसारको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनले पत्राचार गरेको हो। डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७ को धामीगाउँ भएको र केन्द्र हेरफेर नभएकाले सोही अनुसार धामीगाउँबाटै पालिकाका सबै सेवा सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।  

सो मन्त्रालयको निर्णय कार्यान्वयन गरी धामीगाउँबाटै सबै सेवा सञ्चालन गर्न जिल्ला प्रशासनले डिलासैनी गाउँपालिकालाई पत्रमार्फत आग्रह गरेको छ। पछिल्लो समयमा कार्यपालिकाले पङसेरामा नै केन्द्र राख्ने निर्णय गरेको भए पनि सो निर्णय मन्त्रिपरिषद्बाट फिर्ता भएकाले धामीगाउँबाटै सेवा सञ्चालन गर्न गाउँपालिकालाई भनिएको छ। 

गाउँपालिकाको केन्द्र धामीगाउँमै रहनुपर्ने भन्दै यसअघि आन्दोलनका कार्यक्रम हुँदै आएका थिए। मन्त्रालयले डिलासैनीको केन्द्र धामीगाउँबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएपछि अहिलेका लागि सङ्घर्ष समितिले आन्दोलन स्थगित गरिएको जनाएको  छ। अब साबिककै केन्द्रबाट पालिकाले सेवा दिनुपर्ने स्थानीयवासीले बताएका छन्।  
 

कमेन्ट लोड गर्नुस