सुदूर नेपाललाई विश्वसँग जोड्दै

३५ सय रुसी सैनिक मारिए, युक्रेनी राष्ट्रपतिले भनेः हतियार बिसाउने छैनौँ

२०७८ फाल्गुन १४, १२:३१ खबर संवाददाता

एजेन्सीः युक्रेनमा रुसले युद्ध सुरुगरेको तीन दिन भएको छ। यो अवधिमा रुसले ठूलो क्षति बेहोर्नु परेको युक्रेनले दाबी गरेको छ। युद्धको क्रममा अहिलेसम्म ३५ सय भन्दा बढी रुसी सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको हो। युक्रेनी सेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा आक्रमणमा सहभागी तीन हजार पाँचसय भन्दा धेरै रुसी सैनिक मारिएको उल्लेख छ । यस्तै दुई सयजनालाई बन्धक बनाइएको पनि युक्रेनी आर्मीले बताएको छ।

रुसका १४ वटा लडाकु विमान, ८ वटा हेलिकप्टर र १०२ वटा ट्यांक नष्ट गरिएको युक्रेनले बताएको छ। रुसले अहिलेसम्म आफ्नो तर्फ भएको हताहती र क्षतिबारे केही बताएको छैन। यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो सेल्फी भिडियो पोस्ट गरी सेनालाई आत्मसमर्पण गर्नका लागि आदेश दिएको भन्ने गलत सूचनाको खण्डन गरेका छन्।

उनले राजधानी किएभको सडकमा हिँड्दै गरेको भिडियो ट्वीटरमा पोस्ट गरेका हुन्। उनले यसो गरेर युक्रेनी सेनालाई रुसी सैनिक सामु आत्मसमर्पण गर्न भनिएको भन्ने खबर गलत रहेको बताउने प्रयास गरेका हुन्। उनले भनेका छन्, ‘अनलाइनमा धेरै गलत जानकारीहरु फैलाइएका छन्। भनिएको छ कि मैले सेनालाई हतियार बिसाउन भनेँ, म भाग्न खोजेँ। तर होइन। म यहाँ छु। हामीले हतियार बिसाउने छैनौँ। हामी हाम्रो देशको रक्षा गर्ने छौँ।’

कमेन्ट लोड गर्नुस