६ लेन सडक निर्माणमा भइरहेकाे ढिलाइकाे कारण खोज्दै आयोजना कार्यालय
मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाको निर्माण अवधि ४ महिना मात्रै बाँकी रहँदा भौतीक प्रगति २५ प्रतिशतको हाराहारीमा रहेको छ। सडक निर्माणमा भईरहेको लापरवाहीले समय अवधि सकिन ४ महिना मात्र बाँकी रहेका बेला अब ढिलो हुनुको कारण आयोजना कार्यालय खोजिरहेको छ। सडकको २०७४ जेठमा दुई बर्षमा निर्माण पुरा गर्ने गरी सम्झौता भएको थियो। २०७६ बैशाखमा सडक निर्माणको सम्झौता भएको दुई बर्ष पुरा हुदैछ। निर्माणको समय अवधि सकिनै लाग्दा पनि निर्माण गती लिन नसकिरहेका बेला कामदारहरु फर्केका छैनन्। आयोजना कार्यालयका ईन्जिनियर दिनेशराज ओझाले केही कामदारमात्र आएका बताए। उनले भने, धेरै कामदारहरु आएका छैनन्। केही स्थानमा काम भएपनि पहिलेको जस्तो पनि काम भएको छैन्। दोस्रो र तेस्रो नम्बरको ठेक्कामा एक÷दुई स्थानमा मात्र काम भईरहेको छ।
मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटरमा तीन खण्डमा सडक निर्माणको काम भईरहेको छ। विभिन्न कारण देखाउदै काम समय अवधिमा नसकिने पक्का छ। २५ प्रतिशतको हाराहारीमा प्रगति भएको सडकको धेरै काम अझै बाँकी छन्। सडकको नाली निर्माणका काम समेत पुरा भएको छैन। सडकमा रहेका विद्युतका पोल, टेलिकमका तार, खानेपानीका पाईपहरुका कारण पनि सडक निर्माणमा ढिलाई भइरहेको निर्माण कम्पनीहरुको दावी गर्दै आएका छन्। नागार्जुन निर्माण सेवाका सञ्चालक जिवन सिहले भने सडकमा रहेका विद्युतका पोलहरुका कारण सडक निर्माणमा समस्या हुदै आएको बताए। सडक अझै खालि भएको छैन्। सडकमा विद्युतका पोल, खाने पानिका पाईपहरु, टेलिफोनका तारहरु रहेका छन्। उनले थपे, काम गर्न समस्या हुदै आएको छ। आयोजना कार्यालयले यो बिषयमा सूरुदेखी बेवास्था गर्दै आएको छ।
राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत रोशन भट्टले माघीका समयमा घर गएका कामदारहरु काममा फर्केका बताए। उनले भने, माघीको विदाका कारण कामको गती कम भएको थियो। अब सुरुको जस्तै गतीमा काम हुन्छ। निर्माण व्यवसायीले सडक क्षेत्र अहिले सम्म खाली नहुँदा समस्या भएको बताउँदै आएका छन्। तर सडक क्षेत्र खाली गर्न आयोजना कार्यालय उदासिन छ। उल्टै निर्माण कम्पनीलाई ढिलाई हुनुको कारण लिखित रुपमै दिन आयोजना कार्यालयले निर्देशन दिएको छ। कति कामदारहरु भए सडक निर्माण समयमा नै सकिन्छ यसको लेखाजोखा सुरुदेखि नै नभएको देखिन्छ। मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालय धनगढीका प्रमुख राजेश पौडेलले निर्माण कम्पनीहरुलाई काम ढिलो हुनुको कारण लिखित रुप्मा मागेको बताए। उनले भने, निर्माण कम्पनीहरुसंग भएको कामदार, औजार लगाएतको क्षमताको लिखित मागेका छौ। यो गतीमा काम गरेमा कती समय लाग्छ यो बिषयमा पनि हामी क्याल्कोलेसन गर्दै छौ।
मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाको काम गरिरहेको निर्माण कम्पनीहरुलाई दैनिक सडक निर्माणमा रहेका कामदारको संख्या, सडक निर्माणका लागि आवश्यक पर्ने औजार तथा मेसिनहरु, प्राविधिक जनशक्तीको अवस्थाको बारेमा आयोजना कार्यालय अहिले आएर अध्ययन गर्दैछ। ४ महिना मात्र सडक निर्माण सक्न समय अवधि बाँकी रहेका बेला सडक विभागले प्रगति माग गरेपछि मात्र आयोजना कार्यालयले काम ढिलो भईरहेको भन्दै निर्माण कम्पनीहरुको क्षमताका बारेमा जानकारी माग गरेको हो। सडक विभागका सूचना अधिकारी अर्जुन सुहालले सडक निर्माणमा भइरहेको ढिलाईको कारण आयोजना कार्यालयलाई मागेको बताए। उनले भने, अब समय अवधि कम रहेको छ।