सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध एयरले अभिनेता राम चरणको जहाज खरिद गर्‍यो

२०७८ फाल्गुन १३, ०१:२४ खबर संवाददाता

काठमाडौँः नेपाली वायुसेवा कम्पनी बुद्ध एयरले बुधबार साँझ नयाँ जहाज भित्र्याएको घोषणा गरेको छ। कलसाइन ९ एन–एएनपी रहेको यो जहाज एटीआर–७२ हो। पहिल्यै ११ वटा एटीआर–७२ जहाज भएको बुद्धले फेरि पनि सोही प्रकारको जहाज थपेको हो। 

बुद्धले यो जहाज भारतीय वायुसेवा कम्पनी ट्रुजेटबाट खरिद गरेको हो। रोचक के छ भने ट्रुजेट दक्षिण भारतीय अभिनेता राम चरणको स्वामित्व भएको कम्पनी हो। पिता चिरञ्जीवी जस्तै प्रख्यात रहेका राम चरणले सन् २०१५ मा ट्रुजेटको स्थापना गरेका थिए। सोही सालको जुनबाट यो कम्पनीले उडान सुरु गरेको थियो। 

बुद्धलाई बेचेको जहाज उसले केही वर्षअघि भारतकै अर्को वायुसेवा कम्पनी जेट एयरवेजबाट लिएको थियो। जेट हाल बन्द छ। भारतको दक्षिणी सहर हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न साना सहरमा उडान गर्दै आएको ट्रुजेट हाल भने ग्राउन्डेड छ। भारतीय अखबारहरूका अनुसार ट्रुजेट हाल आर्थिक संकटमा फसेको छ। गत अप्रिलमा अमेरिकी कम्पनी इन्भेस्टर इन्टरप्टले ट्रुजेटको ४९ प्रतिशत सेयर खरिद गरेको थियो। तर विदेशी लगानीले पनि राम चरणको यो कम्पनीलाई माथि उठाउन सकेन। 

भारतको आर्थिक अखबार दी हिन्दु बिजनेसलाइनका अनुसार ट्रुजेटले फेब्रुअरी ५ बाट ग्राउन्डेड छ। ट्रुजेटले बिहीबारबाट उडान सुचारु गर्ने योजना सार्वजनिक गरेको थियो। ट्रुजेटसँग हाल एउटा मात्रै जहाज छ। दुई वटा एटीआर–७२ बाट उडान गर्दै आएकोमा उसले एउटा जहाज बुद्धलाई बेचेको हो। 

कमेन्ट लोड गर्नुस