सुदूरपश्चिमले ५३ जना प्रदेश सांसद पाएको एक वर्ष : आशाभन्दा निराशा बढी
सुदूरपश्चिम प्रदेशका ५३ जना प्रदेशसभा सदस्यले प्रदेशवासीका नाममा सपथ खाएको सोमबार एक वर्ष पूरा भएको छ। प्रदेशवासीले ५३ जना प्रदेश सांसद पाएको एक वर्ष पूरा भएपनि जनअपेक्षा अनुसार काम गर्न अग्रसर नभएको भन्दै उनीहरु आलोचित हुदै आएका छन्। सेवा सुविधा र सरकारी सम्पत्ति दोहनमै केन्द्रित भएको आरोप खेपिरहेको सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरुले जनताको नाममा सपथ खाएको र प्रदेशसभा स्थापना भएको खुसियालीमा सोमबार धनगढी चियापान कार्यक्रम नै आयोजना गरे। निकै कम संख्यामा चियापान कार्यक्रममा उपस्थित भएका प्रदेशसभा सदस्यहरुको अनुहारमा खुसिका रंगहरु भने विरलै झल्केको पाईन्थ्यो। मलिन मुद्रामा देखिएका सांसदहरु गम्भीर भएको जस्ता देखिन्थे। बितेको एक वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकेको कुरा बाहिर खुलेरै भन्न नसकेपनि उनीहरुले घुमाउरो शैलीमा सो कुरा स्वीकारेका छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका झपट बोहोराले यो एक वर्ष आधार वर्ष भएकाले कानुन निर्माण र मानव संशाधन निर्माणको थालनी सरकारले गरेको बताए।
उनले जनअपेक्षा अनुसार विकास निर्माणलाई गति दिन नसकेको स्वीकार गर्दै त्यसका केही जटिलता रहेको समेत उल्लेख गरे। संयन्त्रको अभावका कारण पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक हुन पुगेको उनको तर्क थियो। प्रदेश सरकार विस्तार भएको पनि आउँदो फागुनमा एक वर्ष पुग्न लागेको छ। तर सरकारले अहिलेसम्म जनताका पक्षमा देखिने गरी काम गर्न नसकेको आरोप पनि अर्कोतिर खेपिरहेको छ। सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न सफल भएको कुरालाई प्रमुख उपलब्धीका रुपमा अघि सारेपनि त्यो विषय भने अहिले पनि विवादमै रहेको छ। तर आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लाग्नु, १७ वटा विद्येयक पारित गर्नु सरकारका उपलब्धीपूर्ण काम भएको दावी गरेका छन्।
प्रदेश सरकार विकास निर्माण र बजेट कार्यान्वयन गर्ने विषयमा असफल नै भइसकेको आरोप प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले लगाउदै आएका छन्। तर प्रतिपक्षी दलका सांंसदहरुमाथि पनि सरकारलाई सचेत र सजग गराउने कुरामा भने खासै भुमिका खेल्न नसकेको आरोप लागेको छ। नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य रहेका भरत बहादुर खडकाले आर्थिक वर्ष २०७४/७५ को बजेट कार्यान्वयन गराउने सन्र्दभमा प्रदेश सरकार पूर्ण रुपमा असफल भएको बताए। चालु वर्षको बजेट पनि कार्यान्वयनमा सरकार निकै सुस्त रहेको पनि उनले जनाए। नौलो अभ्यास र विभिन्न अन्यौलताका विच प्रदेश सभाबाट भए/गरेका कामलाई भने सकारात्मक रुपमा लिनुपर्ने भनाई सभामुख अर्जुन बहादुर थापाको छ। प्रदेश सरकार र अन्य प्रदेशसभा सदस्यहरुले पनि नयाँ अभ्यासका कारण एक वर्ष अन्यौलतामै बितेपनि अगामी दिनमा उदाहरणीय काम गरेर देखाउने आश्वासन दिएका छन्।