युद्धको त्रासदीः छोरीसँग छुट्टिनेबेला यसरी भक्कानिए युक्रेनी पिता
काठमाडौंः युक्रेनमाथि रुसी हमलापछि त्यहाँको अवस्था आतंकपूर्ण बनेको छ। हजारौं नागरिकहरू राजधानी किभ र अन्य शहरबाट बाहिरिन थालेका छन्। सुरक्षित स्थानमा जानुअघि भिडभाडपूर्ण बसमा परिवारका सदस्यसँग छुट्टिनुअघिको अन्तिम दृश्य सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन्।
सामाजिक सञ्जालमा भाइरल एक भिडियोले युक्रेनबासीको सामुहिक पीडाको प्रतिनिधित्व गर्छ। उक्त भिडियोमा एक बाबु आफ्नी छोरीसँग छुट्टिनुअघि अँगाल्दै भक्कानिएको दृश्य देख्न सकिन्छ। ती नागरिक आफ्नी छोरीलाई सुरक्षित स्थानतर्फ पठाउने तयारीमा देखिन्छन्। उनी रुसी सेनाविरुद्धको लडाईंमा सहभागी हुन शहरमै बस्नुपर्नेछ। भिडियोमा छोरीलाई बसमा चढाउनुअघि उनी भक्कानिएर रुन्छन्। छोरीलाई पटकपटक अंगाल्दै चुम्छन्। रुसले युक्रेनमाथि थोपरेको युद्धले आम मानिसको जीवन कसरी उजाडिरहेको छ भन्ने दृश्य भिडियोमा देख्न पाइन्छ।
रुसी सेना शुक्रबार बिहानसम्म युक्रेनका विभिन्न इलाकामा अगाडि बढिरहेको छ। युक्रेनका कैयौं सैन्य क्याम्पहरू रुसले ध्वस्त बनाइसकेको छ। रुस राजधानी किभ कब्जा गर्ने प्रयासमा छ। राजधानीमा हुने सम्भावित हमलाको भयले खासगरी घरका पुरुष अगुवाहरूले परिवारका अन्य सदस्यलाई शहरबाट बाहिर सुरक्षित स्थानतर्फ पठाइरहेका दृश्य अन्तरर्राष्टिय सञ्चार माध्यम र सामाजिक सञ्जालले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरिरहेका छन्।