विश्वकप छनोट : ओमानलाई पराजित गर्दै नेपाल तेस्रो
काठमाडौँ: आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ। ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले। कुशलले अविजित रहँदै ५५ रन बनाए । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने आसिफ शेख १३ रनमा आउट भए। ओमानका जिसन मक्सुदले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो। ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए। यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे। सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए। यसअघि मङ्गलबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो।